झापा, कात्तिक २८ । झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार बनेका डम्बर गिरीले अब युवाहरूले नेतृत्व परिवर्तन गर्नुपर्ने बेला आएको बताएका छन् ।

सोमबार भद्रपुरमा आयोजित युवा नेतृत्व र पुस्ता हस्तान्तरणमा युवाहरूको भूमिका विषयक भेटघाट कार्यक्रममा बोल्दै सूर्यमुखी चुनाव चिन्ह पाएका स्वतन्त्र उम्मेदवार गिरीले झापा ३ बाट उम्मेदवार बनेका नेपाली काँग्रेस नेता कृष्णप्रसाद सिटौला र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबाट यस क्षेत्रको विकास सम्भव नरहेकोले अब युवाहरूले नेतृत्व परिवर्तन गर्नुपर्नेमा जोड दिए ।
पूर्व एमाले नेता समेत रहेका गिरीले भने, ‘उहाँहरू क्षेत्र विकासभन्दा पनि आफ्नो व्यक्तित्व र पार्टी विकास गर्नेतर्फ बढी ध्यान दिनुभयो ।’

‘घरदैलो क्रममा मतदाताको घरघर पुग्दा अहिले युवा मतदाताहरूको एउटै भनाई पाएको छु,’ उनले भने, ‘अब बुढापाका उम्मेदवारबाट विकास सम्भव छैन, तपाई जस्तो युवा नेता चाहिन्छ, तपाईँलाई हामी भोट दिन्छौ भन्ने आश्वासन पाएको छु ।’

मंसीर ४ गते हुने निर्वाचनपछि यस क्षेत्रबाट आफूले निर्वाचन जित्ने दाबी गर्दै उनले भने, ‘म एमालेको संरचनाबाट उदाएको मान्छे हुँ, एमालेका साथीले मलाई अत्यधिक माया गर्नुहुन्छ, एमालेबाट मैले ७० देखि ८० प्रतिशत मत पाउने विश्वास गरेको छु ।’ ३० वर्षमुनिका मतदाताहरु यस क्षेत्रमा ५० हजारभन्दा बढी छन् । ‘ती युवाहरूको मत मैले पाउनेमा म विश्वस्त छु,’ उनले भने ।‘यस क्षेत्रमा हजारौँलाई रोजगारी दिने मोमेन्टो गार्मेन्ट उद्योग किन बन्द भयो । भद्रपुरमा मेची पुल बन्यो तर भन्सारको स्तरोन्नति किन हुन सकेन । मेची अस्पतालको अवस्था पनि बिरामीजस्तै दयनीय बन्दै गएको छ । मेची क्याम्पसमा किन प्राविधिक विषय पढाउने सकिएन’ उनले प्रश्न गरे ।

‘जैविक विविधता बोकेको जलथल जङ्गल, किचकबध र केचना स्तम्भलाई किन पर्यटकीय क्षेत्रको रुपमा अझै विकास गर्न सकिएन जस्ता अनेकौँ समस्याहरू यस क्षेत्रमा छन्,’ उनले भने ‘अहिलेसम्म निर्वाचित भएकाहरूबाट किन ती योजनाहरू पुरा हुन सकेन, यसको जवाफ सिटौला र लिङ्देनसँग छ, त्यसैले अब विकास गर्न र स्वदेशमै रोजगारी दिलाउन युवा पुस्ता चाहिन्छ ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्