सुरेश आले “सर्जु”
बिर्तामोड । बिर्तामोड –९ मा बिनियोजित बजेटप्रति स्थानीय आक्रोशित बनेका छन्।
वडाको उत्तर पश्चिम भेगमा परेका अधिकांश योजनाहरु एमाले कार्यकर्ताको घरदैलोमा सीमित बनेको स्थानीयले गुनासो गरेका हुन्। कतिपय महत्वपूर्ण योजनाहरुमा वडाको बजेट नपरेको उनीहरुको भनाई छ । जबकि स्वास्थ्य, कृषि, वातावरण, शहरी योजना, भौतिक सुधार,बैंक वित्तीय सुधार,कर प्रशासन सुधार, खानेपानी,भौतिक सडक, संचार,बिद्युतमा सम्पूर्ण वडाबासीको पहुँच हुनु पर्नेमा त्यस्तो नभएको र राजनैतिक पहुँचको आधारमा योजना बाँडफाँट भएको आरोप लागेको हो । राजनैतिक पहुँचको आधारमा योजना बाँडफाँट गर्नु अपराध भएको स्थानीयको आरोप छ । बिर्तामोड –९ र १० को सिमाना जोडिएको उत्तर पश्चिम भेगको बद्रीबारी टोल विकास संस्था र धनबीरबारीपूर्व कोलाटोली टोल विकास संस्थाका टोलबासीहरुले गुनासो पोखेका हुन् ।
वडाका समस्याहरु के के छन् भनेर स्थानीय सरकार संचालन गर्न बनेको टोल विकास संस्थामार्फत योजना माग गरिन्छ । जबकि टोल विकास संस्थामा पनि एमालेकै कार्यकर्ताको हावी छ । त्यही भएर पनि वडाका योजनाहरू उनीहरुको घरदैलोमा सीमित हुने गरेको बद्रिबारीका आनन्द राजवंशीले गुनासो गरे । त्यसो हुँदा खास समस्याहरू ओझेलमा परेको उनको बुझाई छ। स्थानीय समस्यालाई समेटेर बजेट बिनियोजन गरिनु पर्छ उनले भने ।
वडा र नगरका प्रतिनिधिहरुले वास्तविक समस्या नबुझी टोल विकास संस्थाका ब्यक्तिका कुरा सुन्ने गरेका छन् । बिर्तामोड नगरपालिकाको मेयरमा अघिल्लो स्थानीय चुनावमा एमालेका धु्रबकुमार शिवाकोटी निर्वाचित भए। त्योसंगै वडाहरूमा पनि एमालेकै वडा अध्यक्षहरूको बर्चस्व रह्यो। यस बर्षको स्थानीय निर्वाचनमा समेत एमालेकै पबित्रा महतारा प्रसाई मेयरको पदमा विजयी भईन् ।यस बर्ष बिर्तामोड नगरपालिकाका १० वटा वडामध्ये २ मा कांग्रेस, एकमा राप्रपा र अन्य ७ वडामा एमालेका वडाध्यक्ष प्यानलसहित निर्वाचित भएका छन् । यसरी वडा नं.९ पनि राजनैतिक हिसाबले एमालेको पोल्टामा प¥यो ।
अघिल्लो बर्ष एमालेकै पबित्रा पाठक वडा नं.९ को वडा अध्यक्ष बनिन् । उनको कार्यकालमा एमाले कार्यकर्ताकै कुरा बढी सुनियो भन्ने आरोप छ । यस पटक स्थानीय निर्वाचनमा ९ नं वडामा एमालेकै हरि चौलागाईं वडा अध्यक्ष निर्वाचित भए । उनले पनि अहिले सोही धार समातेर विकास योजनाका काम छनोट गर्ने गरेको गुनासो बाहिर आएको हो । वडा न. ९ को पश्चिम उत्तर वडा नं १० संग सिमाना जोडिएको बद्रीबारी टोल विकास संस्था र धनबीरबारीपूर्व कोलाटोली टोल विकास संस्थामा हेर्ने हो भने अघिल्लो मेयर शिवाकोटीको पालामा यस भेगका एमाले कार्यकर्ता गोपाल खरेलको चलखेल देखिएको थियो । मेयर शिवाकोटीले खरेललाई योजना मात्र दिएनन् ,नगरभरिको उत्कृष्ट उपभोक्ता संयोजकको पुरस्कारले समेत पुरस्कृत गरे । हाल उनको स्थानमा सुजन संग्रौला अगाडि देखिन्छन्। त्यसैगरी एमाले कार्यकर्ता सुनिता निरौला बाँस्कोटा र युवराज पराजुलीको यसबर्ष त्यस ठाउँमा हालीमुहाली बनेको बताइन्छ ।
यो बर्ष यी तीन जनाको हातमा यस क्षेत्रको योजना परेको छ । संग्रौलाले उनकै घर छेउ बाटोमा प्लम गर्ने योजना पारेका छन् । बास्कोटाले घरछेउको खोला तटबन्ध र काठे पुल निर्माण, त्यस्तै पराजुलीले आफ्नै घर छेउको बाटोमा कल्भर्ट निर्माणको योजना पारे। ती चार वटा योजनामा क्रमशः पाँच लाख, पाँच लाख,दुई लाख र पाँच लाख बजेट वडाको सिफारिसमा नगरले बिनियोजन ग¥यो । अब योजनाका हर्ताकर्ता समेत सम्भवत उनीहरु नै हुने यस क्षेत्रका स्थानीयको अनुमान छ । जबकि त्यस क्षेत्रको गोपाल सिटौलाको घरछेउको कल्भर्टको समस्या बर्षौदेखि यथावत छ । जहाँबाट आवतजावतमा समेत कठिनाई भैरहेको छ । यसलाई एमाले कार्यकर्ता रिझाउन गरिएको काम नभनेर के भन्ने स्थानीय नबिन सेडाईले भने। उनले अन्यत्रको समस्यालाई वडाले बुझ्न नसकेको गुनासो पनि गरे।
यस बिषयमा वडा अध्यक्ष चौलागाईसंग सम्पर्क गर्दा एमाले कार्यकर्ता रिझाउन भन्ने शब्द पुष्टि नहुने प्रतिक्रिया दिए । उनले संयोग मात्र त्यस्तो भएको बताउँदै गोपाल सिटौलाको घर अगाडिको कल्भर्टको लागि पाँच लाख रुपैयाँ बजेट बिनियोजन गर्ने कुरा रहेकोमा त्यति रकमले अपुग हुने भएपछि सो बजेट अन्यत्र लगाईएको बताए । त्यहाँ रहेको अन्धुवा खोला तटबन्धका लागि करिव ६१ लाख बराबरको योजना नगरमार्फत केन्द्रमा पेश गरेको र त्यस ठाउँको योजना छनोट गर्दा केही पुराना र अति आवश्यक हेरेरै बजेट बिनियोजन गरेको उनले दावी गरे । तर यस कुरामा सत्यता नभएको र वडा अध्यक्षले पूर्वाग्रही भावना राखेको बद्रीबारी टोल विकास सस्थाका लीलकुमार निरौला र तेजप्रसाद सिटौलाले गुनासो गरे।