मेचीनगर, कात्तिक २८ । राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले आचारसंहिताको उल्लंघन गर्दै झापा–१ मा आएर कांग्रेस गठबन्धनलाई भोट मागेकोमा एमालेले आपत्ति जनाएको छ ।
आयोगका अध्यक्षलाई गुहारेर नेपाली कांग्रेसका उम्मेद्वार विश्वप्रकाश शर्माले भोट मागेको र सुकुम्बासीहरुलाई धनीपूर्जाको प्रलोभन बाँडेको विषयमा एमालेले सोमवार पत्रकार सम्मेलन गरी निर्वाचन आयोगको समेत ध्यानाकर्षण गरेको छ ।
एमालेले आचारसंहिता उल्लंघन गर्नेहरुलाई कार्वाही समेत जोडदार माग गरेको छ । गठबन्धनका उम्मेद्वारहरु हारको मानिसकतामा पुगेपछि आचारसंहिता मिच्न थालेको एमालेको भनाई छ ।
मेचीनगरको वडा नं. १० धुलावारीस्थित कांग्रेसका एक कार्यकर्ताको घरमा सुकुम्बासीहरुको भेला आयोजना गरिएको र त्यहाँ आयोगका अध्यक्षले कांग्रेसका उम्मेद्वार शर्माको पक्षमा खुलेआम भोट मागेको सम्बन्धी एउटा अडियो सोमवार अपरान्ह काठमाडौंको नेपाल प्रेसलगायतका विभिन्न मिडियामार्फत सार्वजनिक भएको थियो ।
सो अडियो सार्वजनिक भएलगत्तै नेकपा एमाले झापा क्षेत्र नं. १ ले धुलाबारीमा पत्रकार सम्मेलनको आयोजना गरेको थियो । एमालेका झापा १ का अध्यक्ष टिकाराम मग्रातीले कांग्रेसले पराजित मनस्थितिका कारण राज्यशक्तिको चरम दुरुपयोग र एकपछि अर्को आचारसंहिताको उल्लंघन गरिरहेको बताए ।
उनले भूमि आयोगका अध्यक्ष निरौलाले उम्मेद्वारको पक्षमा भोट माग्ने कार्य निर्वाचन आचारसंहिता विपरीत भएको हुँदा तत्काल निर्वाचन आयोगले कार्वाही प्रक्रिया थाल्नु पर्ने माग गरे ।
पत्रकार सम्मेलनमा एमालेका प्रदेश कमिटी सदस्य श्रीप्रसाद मैनालीले सत्ता गठबन्धनले आचारसंहिता पालना गर्नु नपर्ने हो कि भन्दै प्रश्न गरेका थिए ।
कांग्रेस गठबन्धनले आचारसंहिताको धज्जी उडाउँदै जाने हो भने एमालेको धैर्यको बाँध टुट्ने चेतावनी दिएका छन् ।