झापा, कात्तिक २९ । नेकपा एमालेको सहयोगमा झापा क्षेत्र नं ३ को उम्मेदवार बनेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले समर्थन जुटाउन अभिनेतृ मनिषा कोइरालालाई बोलाएर राजगढमा चुनावी सभा गरेका छन् ।

संयुक्त चुनाव प्रचार समितिद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अभिनेतृ कोइरालाले आफूले आफ्नो हजुरबुबाले सुझाएझै एक हात छातीमा र एक हातमा नेपालको माटो समाइ सोच विचारपूर्ण निर्णय गर्दै राष्ट्रवादी नेता राजेन्द्र लिङ्देनलाई सहयोग गर्न आएको बताइन् । उनले यो देशमा क्यान्सर जस्तो लागेको भ्रष्टाचारको उपचार राजेन्द्र लिङ्देनले गर्ने बताउदै आफू लिङ्देनसंग अत्यन्तै प्रभावित भएको सुनाइन् ।

कार्यक्रममा राप्रपा अध्यक्ष तथा क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार लिङ्देनले बीसौ बर्ष नेपाली कांग्रेसले विकासबाट पर राखेको क्षेत्र नं ३ मा कांग्रेसले बीसौ बर्षमा नगरेको विकासको काम आफूले पाँच बर्षभित्रमा गरेको दावी गरे । उनले क्षेत्र नं ३ को विकासमा आफूहरुको योगदान रहेको बताए । नेकपा एमालेका नेता देवेन्द्र दाहाल, जितु गौतमी असारु राजवंशी,राप्रपाका अन्जरा आलमलगायतका विभिन्न नेताले सम्बोधन गरेको कार्यक्रमको मुख्य आकर्षण बलिउड स्टार मनिषा कोइराला रहेकी थिइन् ।

क्षेत्र नं ३ प्रदेश (२) का उम्मेदवार छबिलाल चुडालले युवा पुस्ता भविष्यको कर्णधार मात्र नभएर वर्तमानको साझेदार पनि रहेको बताउँदै तालमेलको उम्मेदवारहरुलाई भोट हाल्न अपिल गरे। अन्य वक्ताहरुले तालमेल यहाँ मात्र नभएर सरकार गठनसम्म हुने र राष्ट्रवादी शक्ति राष्ट्रियताको सवालमा एकढिक्का रहने बताएका थिए ।कार्यक्रमको संचालन सोम पोर्तेलले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्