बिर्तामोड, कात्तिक ३० । शिखर बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः दिपेन्द्र राउत निर्वाचित भएका छन् ।
![](https://pratidindaily.com/wp-content/uploads/2022/11/315526343_425061229842019_9223173691859567480_n.jpg)
संस्थाको बुधवार सम्पन्न १२ औं वार्षिक साधारणसभाले चार वर्षे कार्यकालका लागि अध्यक्षमा पुनः राउतलाई निर्विरोध निर्वाचित गरेको हो । त्यस्तै उपाध्यक्षमा सुचित्रा मेचे , सचिव हिमालय प्रसाई , सहसचिव तारा खतिवडा र कोषाध्यक्षमा विजय चापागाई चयन भएका छन् । त्यस्तै सदस्यहरुमा किरण थापा आले , योगेश पौडेल , विज्ञान खड्का , मदन विश्वकर्मा ,हरिमाया लम्साल र लक्ष्मी सेडाई रहेका छन् ।
त्यस्तै साधारणसभाबाट अर्जुन चापागाईको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति निर्माण भएको छ । जसको सदस्यहरुमा ज्योति शिवाकोटी र खगेन्द्र नेपाल रहेका छन् । संस्थाको निर्वाचन गराउन बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहालको अध्यक्षतामा निर्वाचन समिति गठन गरिएको थियो । जसको सदस्यहरुमा गणेश पोखरेल र विनोद न्यौपाने रहेका थिए । निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन अधिकृत दाहालले सपथ ग्रहण गराएका थिए । दोस्रो कार्यकालका लागि निर्वाचित राउत संस्थापक अध्यक्ष हुन् । गत कात्तिक २१ गतेदेखि सो सहकारीको साधारणसभा शुरु भएको थियो । कात्तिक २१ गतेदेखि इकाइगत साधारण सभा शुरु गरी कात्तिक ३० गते माइन्युट प्रमाणीकरण साधारणसभा गरी १२ औं साधारणसभा समापन गरिएको संस्थाका व्यवस्थापक लिलानाथ रेग्मीले जानकारी दिए ।
आठ हजार तीन सय ८३ जना शेयर सदस्य रहेको संस्थाको शेयर पूँजी पाँच करोड ६१ लाख ८४ हजार दुई सय , निक्षेप ६४ करोड ४२ लाख ४९ हजार छ सय ८३ , ऋण लगानी ६६ करोड ७९ लाख ४४ हजार सात सय २७ रुपैयाँ रहेको छ । त्यस्तै दश करोड ३७ लाख २९ हजार सात सय ५५ रुपैयाँ आम्दानीमा नौ करोड ३९ लाख ४३ हजार नौ सय ९३ रुपैयाँ खर्च गरी ९७ लाख ९१ हजार एक सय ५२ रुपैयाँ नाफा कमाएको प्रतिवेदनमा उल्लेख छ । आफ्नै भवनबाट सेवा शुरु गरेको संस्थाले शिखर एम बैंक , कार्डलेस एटीएम, वैंक ट्रान्सफर , क्रेडिट कार्ड पेमेन्ट, वालेट लोड, क्यू आर भुक्तानी, एसएमएस सेवा, एटीएम सेवा, शिखर राहत कोषबाट सेवा, वेवसाइडबाट जानकारी सञ्चालन गरिरहेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै सदस्य राहत कार्यक्रम , अक्सिजन सिलिण्डर सहयोग, शव वाहन सेवा, सदस्यलाई फार्मेसीमा छुट सुविधा, एक घर एक सदस्य कार्यक्रम, म बन्छु उद्यमी कार्यक्रमलगायतका योजना अघि सारेको छ ।