झापा, कात्तिक ३० । झापामा साढे तीन महिनामा तीनवटा हात्ती मारिएका छन् ।

गत असार महिनामा दुईवटा हात्ती मारिएकोमा बुधवार बिहान थप एउटा हात्ती मृत फेला परेको छ ।

पछिल्लो पटक झापाको कचनकवल १ घेरावारीमा दारा नभएको एउटा जंगली हात्ती मृत फेला परेको हो । जलथल जंगलदेखि दुई किलोमिटर दक्षिण गंगा दाहालको धानखेतमा बयस्क भाले हात्ती विहान मृत अबस्थामा फेला परेको र हात्तीको दारा नरहेको कचनकवल १ का वडाध्यक्ष महावीर लिम्बू रंजितले बताए । उनले शरीरमा चोटपटक नदेखिएपनि दारा नरहेको जानकारी दिए । हात्तीको पेट सुन्निएको वन डिभिजन कार्यालयका प्रमुख जीवन पाठकले बताए ।

‘इलेक्ट्रिक शक लागेको जस्तो थिएन’ उनले भने,‘दारा चाहिँ केही महिनाअघि भाच्चिएको जस्तो देखियो ।’हात्तीले सिमल तरुल खाएको देखिकाले फुडपोइजन भएर सो हात्ती मरेको हुनसक्ने स्थानीयले आशंका गरेका छन् । पोष्टमार्टम गरी सो हात्तीलाई मरेको स्थानमै खाल्डो खनेर अन्त्येष्टि गरिएको छ । पोष्टमार्टम रिपोर्ट आउन केही दिन लाग्ने डिभिजन प्रमुख पाठकले बताए । यसअघि गत असार २२ गते अर्जुनधारा–४ दहीझोडामा एउटा हात्ती मृत फेला परेको थियो ।
सुखानी सहीदमार्गदेखि केही तल दहीझोडा खोला किनारको खेतमा वयस्क हात्ती मृत फेला परेको थियो । त्यसको पाँच दिनअघि गत असार १७ गते बुद्धशान्ति गाउँपालिका–५ आयाबारीमा अर्को हात्ती मृत भेटिएको थियो ।

श्रृंखलाबद्ध रुपमा हात्ती मारिने क्रम बढेको छ । २०६२ देखि हालसम्म झापामा १६ वटा हात्ती मारिएको वन डिभिजन कार्यालयले जनाएको छ ।
अधिकांश हात्ती घाउ चोटकै कारण मरेको पाइएको छ । हात्ती नियन्त्रणका लागि राखिएको सोलार फेन्सिङमा परेर र कतिपय मानिसको आक्रमणमा परी मारिएका छन् । मारिनेमा साना छावादेखि लिएर २० वर्षसम्मका वयस्कसम्म छन् ।

नेपालमा करिब पाँच दशकदेखि हात्ती र मानिसबीचको द्वन्द्व जारी छ । द्वन्द्वको कारण हात्तीको आवागमन मार्ग र वासस्थानमा अतिक्रमण नै हो । पछिल्लोसहित २०६२ देखि हालसम्म १६ वटा हात्ती मृत फेला परेको वन डिभिजन कार्यालयका प्रमुख पाठकले बताए । घाउ चोट लागेर , नांगो फेन्सिङ तारमा परेर अधिकांश हात्ती मारिएको उनले बताए । त्योसंगै झापामा चोरी शिकारीको घटना पनि हुने गरेको छ । मृत फेला परेका हात्तीको दारा , पुच्छर नरहनुले चोरी शिकारीकै लागि मारिएको घटना पुष्टि भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्