झापा, मंसिर १ । अभिनेत्री मनिषा कोइराला नआएपछि भद्रपुरको चुनावी सभाका सहभागीहरुले खल्लो महसुस गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले हिजो भद्रपुरमा आयोजना गरेको सभामा मनिषा कोइराला आउने प्रचार गरेको थियो । राप्रपाको चुनावी सभामा सहभागी हुनुभन्दा पनि धेरै दर्शक मनिषालाई हेर्न गएका थिए । तर , मनिषा आइनन् । राप्रपाले मनिषा र एमालेका नेता रामबहादुर थापा बादल आउने हल्ला फिजाएर झुक्याएको सभामा आएका एकजना सहभागीले बताए ।

अस्ति राजगढमा आयोजित राप्रपाको सभामा भने मनिषा आएकी थिइन् । उनलाई हेर्न आफ्ना कार्यकर्ता पनि पुगेको गठबन्धनका एक नेताले बताए । ‘राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनका कुरा सुन्न गएका थिएनन्’उनले भने,‘बलिउड अभिनेत्री भएकाले मनिषालाई हेर्न मात्र गएका थिए ।’ मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा राप्रपालाई मतदान गर्न आग्रह गर्दै मनिषा मुम्बई फर्किएकी छन् ।

नेपाली कांग्रेसका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाकी नातिनी मनिषा राप्रपाका अध्यक्ष लिङ्देनको चुनावी अभियानमा सहभागी हुन एक साताअघि नेपाल आएकी थिईन् । राणाशासन र एकतन्त्रीय जहानीया शाहवंशीय शासन ढालेर प्रजातन्त्र ल्याउने आन्दोलनको नेतृत्व महामानव विपी कोइरालाले गरेका थिए । उनकी नातिनी मनिषाले राजावादी लिङ्देनलाई समर्थन गर्नु उचित नभएको प्रजातन्त्रवादीहरुको भनाई रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्