बिर्तामोड, मंसिर २। निर्वाचनको मौन अवधि र मतदानको अवधिमा मिडिया र मिडियाकर्मीको भूमिका महत्वपूर्ण हुने शुक्रवार बिर्तामोडमा आयोजित कार्यक्रममा सरोकारवालाले बताएका छन् ।

मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मौन अवधि तथा मतदानका दिन मिडियाले ‘वाच डग’ र सशक्त खबरदारी गर्नुपर्नेमा सबैको जोड छ ।

झापाका मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले निर्वाचनलाई विश्वसनीय र व्यवस्थित रुपमा सम्पन्न गर्न आचारसंहिताको पालनामा जोड दिए । आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा मिडियाको भूमिका महत्वपूर्ण हुने उनले बताए । ज्ञवालीले झापामा निर्वाचनसम्बन्धी सूचनालाई मिडियामा छिटो र सहज रुपमा सम्प्रेषण गर्ने संयन्त्रको विकास गर्ने बताए । उनले मौन अवधिको पूर्ण पालना गरी निर्वाचनलाई सफल बनाउन सबैमा अपिल समेत गरे ।
झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले निर्वाचन सम्पन्न गर्न मिडियाले सशक्त भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले झापामा शान्ति सुरक्षाको अवस्था सुदृढ रहेको बताए । प्रजिअ रिजालले मिडियाकर्मीलाई निर्वाचनमा सहयोगी भूमिका निर्वाह गर्न आग्रह गर्दै प्रेस पास र सवारीसाधनको दुरुपयोग हुन नदिन सजग समेत गराए ।

जिल्ला निर्वाचन आचारसंहिता अनुगमन अधिकारी मधु पोखरेलले आचारसंहिता कार्यान्वयनमा मिडियाको भूमिकाबारे प्रष्ट्याउँदै झापामा आचारसंहिताका कार्यान्वयनको अवस्था विगतभन्दा राम्रो रहेको बताए ।
झापाका प्रहरी प्रमुख विश्वमणि पोखरेलले सबै मतदान केन्द्रमा आवश्यक सुरक्षा व्यवस्था मजबुत बनाएको बताए । उनले हरेक नागरिक बिनाबर्दीका प्रहरी भएकाले निर्वाचन सम्पन्न गर्न मिडिया र आम नागरिकले गहन जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए ।

निर्वाचन कार्यालय झापाका प्रमुख जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले जिल्लामा निर्वाचनको सबै तयारी पूरा भएको बताए । उनले सबै मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित मतदान अधिकृत र कर्मचारीहरु पुगिसकेको बताए । मौन अवधिमा राजनीतिक दल तथा सबै सरोकारवालाले पालना गर्नुपर्ने आचारसंहिताबारे मिडियाले खबरदारी गर्नुपर्नेमा उनले जोड दिए । मतदानका लागि प्राथमिकतामा राखिएका लक्षित समुदायका नागरिकले सहज रुपमा मतदान गर्न पाए÷नपाएको अवस्था बुझेर उनीहरुलाई मतदानका लागि सहज वातावरण बनाउन पनि निर्वाचनसम्बद्ध निकायका अधिकारीहरुले मिडियाकर्मीलाई आग्रह गरेका छन् ।

नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले छलफलको विषयमाथि प्रष्ट्याएको कार्यक्रमको सहजीकरण पत्रकार अर्जुन राजवंशीले गरेका थिए । छलफलमा पत्रकारहरुको सुझाव समेतलाई मध्यनजर गरी जिल्लामा निर्वाचनमैत्री र मिडियामैत्री वातावरण बनाउन सरोकारवालाले सात बुँदे प्रतिबद्धतासहितको निष्कर्ष जारी गरेका छन् । छलफलको संयोजन संवाद समूह झापाले गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्