झापा, मंसिर २ ।उपचारको अभावमा गौरादह १ चैतेचोककी दुन राजवंशी थला परेकोे एक वर्ष भयो ।

उनलाई बोन टिबी भएको चिकित्सकहरुले बताएका छन् । कम्मरमुनिको भाग धेरै दुखेको कारण उनी गत वर्ष नोबेल अस्पताल बिराटनगरमा चेकजाँच गराउन पुगिन् । त्यहाँ एमआरआई गरेर भोलिपल्ट घर फर्किइन् । घर फर्किएलगत्तै हिडडुल गर्न सकिनन् । हिँड्दा कम्मरमुनिको भाग सहन नसक्नेगरी पीडा हुन्छ, कम्मर झरेझंै लाग्छ । त्यही दिनदेखि ओछ्यानमा लडेकी उनी हलचल गर्न समेत सक्दिनन् ।

दुनको परिवारमा आपत्ति त्यो बेलादेखि सुरु भयो, जब उनका श्रीमान महावीर राजवंशीले धर्ती छाडे । उनीहरुको आर्थिक अवस्था निकै दयनीय छ । अधिया खेती गरेर जिविकोपार्जन गर्दै आएको उनको परिवारमा अहिले निकै ठूलो समस्या परेको छ ।
उनका एक मात्र छोरा बिपिन राजवंशी खाडी मुलुकमा छन् । थोरै कमाइ छ । आफूले कमाएको पैसाले आमाको उपचार गर्न सक्ने क्षमता उनीसंग छैन । नेपाल र भारतका ३÷४ वटा अस्पतालमा उनले आमाको उपचार गर्ने प्रयास गरे । ‘३ लाख सकियो तर केही उपाय लागेन । काठमाडौमा पनि उपचार गर्न लगियो ’ उनले भने ,‘अप्रेसन गर्न ५÷६ लाख लाग्ने बुझेपछि आमालाई लिएर घर फर्किएँ ।’ आर्थिक समस्याकै कारण दुनको उपचार हुन नसकेको हो ।

अहिले उनको हेरबिचारमा मंगली राजवंशी खटिएकी छिन् । मंगली उनकी आफ्नै बहिनी हुन् । भिनाजुसंग बिहे गरी दिदीकी सौता बनेर भित्रिएकी मंगली नै दुनको सहारा बनेकी छिन् ।
‘दिसापिसाब, नुहाइधुवाइ, सरसफाइलगायतका काम दुनलाई ओछ्यानमै गराउनु पर्छ’ दिदीको हेरचाह गर्दै आएकी मंगलीले भनिन् । ओछ्यान नै परेकी भएपनि दुनको बोली प्रष्ट छ । आउने जानेसंग उनी राम्रोसँग कुरा गर्न सक्छिन् । ‘खर्च जुटाउन पाए ठिक हुन सक्छु र पुनः खुशीको जिन्दगी जिउन सक्छु ’ उनी बाँच्न चाहन्छिन् । दुनको उपचारमा सहयोग गर्न चाहने दाता महानुभावले ९८१५०७६०५३ र ९८४१७६१७८८ मा सम्पर्क गर्न सकिने जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्