झापा, मंसिर २ । पर्सी आइतबार हुने आमनिर्वाचनको लागि झापामा सम्पूर्ण तयारी पूरा भएको छ ।

फोटो छवि बस्नेतको फेसबुकबाट

मतदानका लागि झापामा बुथ निर्माण शुरु गरिएको छ । आज ६० प्रतिशत बुथ निर्माण गरिएको जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले बताए । बाँकी ४० प्रतिशत बुथ भोलि निर्माण गरिने छ । निर्वाचन अधिकृतको कार्यालयबाट सबै मतदान अधिकृत, सहायक मतदान अधिकृतसहित कर्मचारीहरु आवश्यक सामग्रीसहित मतदान केन्द्रमा खटिएकोे जिल्ला निर्वाचन अधिकारी नेपालले जानकारी दिए ।

उनका अनुसार मतदान केन्द्रमा आवश्यक पर्ने मतपत्र, मतपेटीकालगायत आवश्यक सामग्रीहरु निर्वाचन अधिकृतको कार्यालयमार्फत केन्द्रमा पठाइसकिएको छ । जिल्लाका ७६८ मतदान केन्द्रहरुमा आवश्यक सामग्री अलग–अलग प्याकेजिङ गरेर पठाइएको छ । यसअघिका निर्वाचनमा जिल्लाबाटै केन्द्रहरुमा सामग्री वितरण गरिन्थ्यो भने यो निर्वाचनमा निर्वाचन अधिकृतको कार्यालयहरुबाट केन्द्रहरुलाई सामग्री प्रदान गरिएको छ । जिल्लामा मतदान प्रक्रियाका लागि ७ हजार कर्मचारी परिचालन गरिएको निर्वाचन अधिकारी नेपालले जानकारी दिए ।
झापामा ६ लाख ६३ हजार ३ सय ११ मतदाता रहेका छन् । सो संख्यामा महिला र पुरुषबाहेक ८ जना अन्य रहेको निर्वाचन कार्यालय झापाले जनाएको छ । स्थानीय तहको निर्वाचन २०७९ पछि झापामा १३ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । झापाको सबैभन्दा धेरै मतदाता क्षेत्र नम्बर ५ मा छन् भने सबै भन्दा कम मतदाता क्षेत्र नम्बर १ मा रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्