झापा , मंसिर ५ । दैलेखको ठाँटीकाँध गाउँपालिकामा मतदान अधिकृतले मतदान सकिएपछि मतपेटिका प्रहरी चौकीमा लगेर छाडेपछि विवाद सिर्जना भएको छ ।

ठाँटीकाँध गाउँपालिका वडा नम्बर २ पिपलचौतारास्थित जनता आधारभूत विद्यालय केन्द्रका मतदान अधिकृत ज्वालाप्रसाद खनालले प्रहरी चौकीमा मतपेटिका छाडेका हुन् । उनले आइतबार राति प्रहरी चौकीमा लगेर मतपेटिका छाडेका हुन् । दैलेखका मुख्य निर्वाचन अधिकृत सरोजनिधि वाग्लेले घटनाको छानबिन भइरहेको बताएका छन् । मुख्य निर्वाचन अधिकृत वाग्लेले भने, ’लापर्बाही हो वा जानीजानी भएको हो त्यसबारे बुझ्न बाँकी छ ।’ अहिले सर्वदलीय बैठक बसिरहेको र त्यसबारे निणर्यमा पुगिने उनले जानकारी दिए । निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत रहेको उक्त मतदान केन्द्रमा ७ सय मतदाता रहेकोमा ४ सय ५८ मत खसेको थियो ।



