भद्रपुर, मंसिर ६ । भद्रपुर १० चन्द्रगढीस्थित वीपी टोलमा घरमै राखिएको अवस्थामा दुईवटा मोटरसाइकलमा अज्ञात समूहले आगजनी गरी क्षति पुर्याएको छ ।

सिर्जनशील सरस्वती मार्गमा रहेको राधाकृष्ण अधिकारीको घरमा राखिएका दुईवटा मोटरसाइकलमा गएराति अज्ञात समूहले आगजनी गरी क्षति पुर्याएको हो ।
पीडित अधिकारीका अनुसार राति ९.३० वजेतिर एक्कासी त्रिपालले छोपेर राखेको मोटरसाइकलमा आगो बलेको देखेको र मोटरसाइकलको पछाडिको भाग जलिरहेको अवस्थामा आगो नियन्त्रणमा लिँदा थप क्षति हुन पाएन ।
आगलागीबाट प्र—१—०१—१२ प ५२३९ को पल्सर मोटरसाइकलमा पछाडिपट्टि पूर्ण क्षति भएको छ भने मे ७ प ९६९७ मा पनि क्षति पुगेको छ ।
अधिकारीका अनुसार घर अगाडि पूर्ण रूपमा गेट बन्द रहेका कारण पछाडिबाट मोटरसाइकल चोर्न पसेका व्यक्तिले गेट फुटाउन नसकेपछि त्रिपालले छोपेका मोटरसाइकलमा आगो लगाएर भागेको हुन सक्ने अनुमान छ । प्रहरीले पनि यस विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।



