बिर्तामोड,मंसिर ६ । वीरता लेडी जेसीजको आतिथ्यमा यही मंसिर ९ र १० गते बिर्तामोडमा १५ औं राष्ट्रिय लेडी एकाडेमी हुने भएको छ ।

महिला सशक्तिकरणका लागि देशभरिका लेडी शाखाहरुलाई भेला गराएर नेपाल जेसीजको आयोजनामा राष्ट्रिय कार्यक्रम यो वर्ष झापामा गर्न लागिएको हो । सो कार्यक्रम प्रत्येक वर्ष आयोजना गरिदँै आएको छ । बिर्तामोडमा आयोजना गरिने कार्यक्रममा पूर्व बाहुनडाँगीदेखि पश्चिम महेन्द्रनगरसम्म नेपालभरिका १९ वटा महिला शाखाका करिव सय महिला जेसीहरुको सहभागिता रहने मंगलवार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल जेसीजका निरुपित राष्ट्रिय उपाध्यक्ष कुमारसिंह साँवाले नेपाल जेसीजको अभिन्न अंगको रुपमा रहेको वीरता लेडी जेसीजले आफूहरुले सोचेभन्दा उत्कृष्ट कार्यक्रम गर्ने विश्वास व्यक्त गरे । उनले सन् २०१४ मा जेसीज क्षेत्र ‘क’ सम्मेलन , २०१७ मा राष्ट्रिय प्रशिक्षक प्रशिक्षणजस्ता कार्यक्रम सफल रुपमा गरेर वीरता लेडी जेसीज उत्कृष्ट शाखाको रुपमा पुरस्कृत भइसकेको जानकारी दिए ।

दुई दिवसीय कार्यक्रमको उद्घाटन राष्ट्रिय सभा सदस्य तथा बीरता जेसीजका संस्थापक अध्यक्ष गोपालकुमार बस्नेतले गर्ने वीरता लेडी जेसीजकी अध्यक्ष संगीता चिमरियाले जानकारी दिइन् । महिला सशक्तिकरण र उद्यमशीलता, जेसीज पहिचानसम्वन्धी तालिम प्रदान गरिने निवर्तमान अध्यक्ष स्वस्तिका आचार्यले बताइन् । तालिममा भोलेश्वर दुलाल र उषा मल्ल सिंहले सहजीकरण गर्ने उनले जानकारी दिइन् । तालिममा आउने सहभागीहरुलाई झापाका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलको भ्रमण गराइने, झापाको पहिचानका रुपमा रहेको भक्का परिकार खुवाउने जनाइएको छ ।

कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष लालमणि भण्डारीसहित सम्पूर्ण राष्ट्रिय पदाधिकारीहरुको सहभागिता रहने बताइएको छ । राष्ट्रिय लेडी एकाडेमी वीरता लेडी जेसीजको लागि अवसर भएको एकाडेमिक डाइरेक्टर कंचना सिटौलाले बताइन् । कार्यक्रमको संचालन महासचिव युनिता दवाडीले गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्