झापा, मंसिर ६ । प्रतिनिधिसभा निर्वाचनको मतपरिणामले झापाबाट तीन पुराना अनुहार दोहोरिने भएका छन् । पाँच निर्वाचन क्षेत्रमध्ये दुईवटामा नयाँ अनुहार पर्ने भएका छन् ।

झापा क्षेत्र नं ५ बाट एमाले अध्यक्ष केपी ओली,४ बाट एमालेकै एलपी साँवा र ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन दोहोरिने भएका हुन् । क्षेत्र नं १ बाट भने नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित भएर पहिलो पटक संसदमा जाने भएका छन् । त्यस्तै एमाले स्थायी कमिटी सदस्य देवराज घिमिरे पनि क्षेत्र नं २ बाट निर्वाचित भएर संसदमा छिर्ने भएका छन् । यद्धपि उनी राष्ट्रिय सभा सदस्य भइसकेका थिए ।

पछिल्लो मतपरिणाम अनुसार क्षेत्र नं ५ मा एमाले अध्यक्ष ओलीले २१ हजार १६७ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी कांग्रेसका खगेन्द्रपाण्डव अधिकारीले १२ हजार ६६ मत पाएका छन् । त्यस्तै प्रदेशतर्फ ५(१) मा एमालेका हिक्मतकुमार कार्कीले १९३२ मत ल्याउँदा कांग्रेसका जीवनकुमार राईले १४८० मत हासिल गरेका छन् । प्रदेश ५(२) मा एमालेका होमबहादुर थापाले १२३४ मत ल्याउँदा माओवादीका रेवतीराज पुरीले ७४८ मत पाएका छन् । क्षेत्र नं १ मा कांग्रेस महामन्त्री शर्माले २१ हजार ७२८ मत ल्याउँदा एमालेका अग्नी खरेलले १३ हजार ३९५ मत ल्याएका छन् । प्रदेशतर्फ १(१) मा कांग्रेसका गोपाल तामाङले ८ हजार ९३५ मत ल्याउँदा एमालेका रविन कोइरालाले ७ हजार ७३४ मत पाएका छन् । त्यस्तै १(२) मा राप्रपाकी सविना बजगाईले ५ हजार ९६६ मत ल्याउँदा माओवादीका श्यामवीर लिम्बूले ५ हजार ६१५ मत ल्याएका छन् ।

त्यस्तै क्षेत्र नं २ मा एमालेका देवराज घिमिरेले १४ हजार २३४ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार स्वागत नेपालले १२ हजार ५७८ मत ल्याएका छन् । प्रदेशतर्फ २(१) मा एमालेका एकराज कार्कीले ८ हजार २३१ मत ल्याउँदा एकीकृत समाजवादीका पुष्प पोखरेलले २ हजार ७४७ मत पाएका छन् । प्रदेश २(२) मा एमालेका चिन्तन पाठकले ७ हजार २३९ र कांग्रेसका खगेन्द्र मैनालीले ५ हजार ४७३ मत ल्याएका छन् ।

त्यस्तै क्षेत्र नं ४ मा एमालेका एलपी साँवाले ८ हजार ५२६ मत ल्याउँदा स्वतन्त्र पार्टीका शम्भुप्रसाद ढकालले ६ हजार ७४४ मत ल्याएका छन् । प्रदेशतर्फ ४(१) मा एमालेका राधाकृष्ण खनालले ८४५ र माओवादीका झलकसिंह दर्लामीले ६६० मत ल्याएका छन् । त्यस्तै प्रदेश ४(२) मा राप्रपाका भक्ति सिटौलाले ३६५ र कांग्रेसका एकराज उप्रेतीले २३० मत ल्याएका छन् ।

त्यस्तै क्षेत्र नं ३ मा राप्रपाका राजेन्द्र लिङ्देनले १० हजार ३६५ मत ल्याउँदा कांग्रेसका कृष्णप्रसाद सिटौलाले ७ हजार ८६४ मत पाएका छन् । प्रदेशतर्फ ३(१) मा कांग्रेसका भूमिप्रसाद राजवंशीले ८ हजार ९१५ र एमालेका बसन्त बानियाले ८ हजार ७७४ मत ल्याएका छन् भने ३(२) मा एमालेका छवि चुडालले ५ हजार ६८७ र माओवादीका पूर्णप्रसाद राजवंशीले ४ हजार ४७५ मत ल्याएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय झापाका अनुसार मंगलबार बेलुका ६ बजेसम्म जिल्लामा करिब ४० प्रतिशत मतगणना सम्पन्न भएको छ।
झापाका पाँचै निर्वाचन क्षेत्रमा अहिले मतगणना जारी रहेको र हालसम्म ४० प्रतिशत मतगणना भएको मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत वीरेन्द्र बस्नेतले जानकारी दिए।
झापामा ६ लाख ६३ हजार ३११ मतदाता रहेकोमा ४ लाख ४६ हजार २५५ मत खसेको छ। प्रतिशतको हिसाबले ६७.२७ मत खसेको हो।

झापा १ मा १ लाख २० हजार ३७५ मत रहेकोमा ८७ हजार ३९६, झापा २ मा १ लाख ३४ हजार ९१ मत रहेकोमा ८७ हजार ७२३, झापा ३ मा १ लाख ३१ हजार ४३२ मत रहेकोमा ८९ हजार ७३७, झापा ४ मा १ लाख २३ हजार १२४ मत रहेकोमा ७९ हजार ३४९ र झापा ५ मा १ लाख ५४ हजार २८९ मत रहेकोमा १ लाख २ हजार १५० मत खसेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ।
अहिले पाँचै क्षेत्रमा जनशक्ति खटाएर मतगणना छिटोछरितो बनाइएको छ। यही रफ्तारले गणना गरिएमा बुधवार बेलुका वा बिहीबार बिहानसम्म प्रत्यक्षतर्फको सबै परिणाम आइसक्ने उनले बताए। पछिल्लो मत परिणाम अनुसार नेकपा एमाले तीन क्षेत्रमा, कांग्रेस र राप्रपा एक÷एक क्षेत्रमा अगाडि छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्