झापा, मंसिर ७ । प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा पाँच उम्मेदवारले अग्रता कायम राखेका छन् ।

झापा क्षेत्र नं ५ बाट एमाले अध्यक्ष केपी ओली,४ बाट एमालेकै एलपी साँवा र ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको अग्रता कायम छ । क्षेत्र नं १ बाट भने नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित भएर पहिलो पटक संसदमा जाने भएका छन् । त्यस्तै एमाले स्थायी कमिटी सदस्य देवराज घिमिरे पनि क्षेत्र नं २ बाट निर्वाचित भएर संसदमा छिर्ने भएका छन् ।

पछिल्लो मतपरिणाम अनुसार क्षेत्र नं ५ मा एमाले अध्यक्ष ओलीले ३० हजार २०८ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी कांग्रेसका खगेन्द्रपाण्डव अधिकारीले १५ हजार ९७० मत पाएका छन् । त्यस्तै प्रदेशतर्फ ५(१) मा एमालेका हिक्मतकुमार कार्कीले ३७६७ मत ल्याउँदा कांग्रेसका जीवनकुमार राईले ३४९४ मत हासिल गरेका छन् । प्रदेश ५(२) मा एमालेका होमबहादुर थापाले ५४५० मत ल्याउँदा माओवादीका रेवतीराज पुरीले ४१७० मत पाएका छन् ।

क्षेत्र नं १ मा कांग्रेस महामन्त्री शर्माले ३१ हजार ११५ मत ल्याउँदा एमालेका अग्नी खरेलले १९ हजार ५०० मत ल्याएका छन् । प्रदेशतर्फ १(१) मा कांग्रेसका गोपाल तामाङले १२ हजार २७४ मत ल्याउँदा एमालेका रविन कोइरालाले १० हजार ६७७ मत पाएका छन् । त्यस्तै १(२) मा राप्रपाकी सविना बजगाईले ६ हजार ८२९ मत ल्याउँदा माओवादीका श्यामवीर लिम्बूले ६ हजार ५४३ मत ल्याएका छन् ।

त्यस्तै क्षेत्र नं २ मा एमालेका देवराज घिमिरेले १८ हजार ४१० मत ल्याउँदा स्वतन्त्र उम्मेदवार स्वागत नेपालले १६ हजार ९३९ मत ल्याएका छन् । प्रदेशतर्फ २(१) मा एमालेका एकराज कार्कीले १४ हजार ९९८ मत ल्याउँदा एकीकृत समाजवादीका पुष्प पोखरेलले ५ हजार १४४ मत पाएका छन् । प्रदेश २(२) मा एमालेका चिन्तन पाठकले १५ हजार २८ र कांग्रेसका खगेन्द्र मैनालीले १२ हजार १५३ मत ल्याएका छन् ।

त्यस्तै क्षेत्र नं ४ मा एमालेका एलपी साँवाले १३ हजार ४४ मत ल्याउँदा कांग्रेसका देउकुमार थेबेले ९ हजार ९६५ मत ल्याएका छन् । प्रदेशतर्फ ४(१) मा एमालेका राधाकृष्ण खनालले १७६६ र माओवादीका झलकसिंह दर्लामीले १४२५ मत ल्याएका छन् । त्यस्तै प्रदेश ४(२) मा राप्रपाका भक्ति सिटौलाले १९३१ र कांग्रेसका एकराज उप्रेतीले १२९२ मत ल्याएका छन् ।

त्यस्तै क्षेत्र नं ३ मा राप्रपाका राजेन्द्र लिङ्देनले १६ हजार ६२५ मत ल्याउँदा कांग्रेसका कृष्णप्रसाद सिटौलाले १३ हजार ६८२ मत पाएका छन् । प्रदेशतर्फ ३(१) मा कांग्रेसका भूमिप्रसाद राजवंशीले १५ हजार ३४४ र एमालेका बसन्त बानियाले १४ हजार ८१४ मत ल्याएका छन् भने ३(२) मा एमालेका छविलाल चुडालले १० हजार २४० र माओवादीका पूर्णप्रसाद राजवंशीले ८ हजार १४२ मत ल्याएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय झापाका अनुसार आज बिहान ६ बजेसम्म जिल्लामा प्रत्यक्षतर्फ ६० प्रतिशत मतगणना सम्पन्न भएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्