झापा , मंसिर ७ । २०७४ को निर्वाचनमा ब्यहोरेको हारको बदला लिँदै नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशीले झापा ३(१) मा निवर्तमान सांसद बसन्त बानियालाई पराजित गरेका छन् ।

भर्खरै सम्पन्न मतगणना अनुसार राजवंशी २० हजार ७७० मत ल्याई प्रदेश सदस्यमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी बानियाले १९ हजार ७०१ मत ल्याएका छन् । त्यस्तै मंगोल नेशनल अर्गनाइजेसनका मदनहाङ्ग तावाले १०१७, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अम्बरबहादुर लिम्बुले ५५१ ,जनमत पार्टी देवकुमार चौधरीले ४३६ ,स्वतन्त्र हेमलाल भट्टराईले ४०९ ,स्वतन्त्र जमालुदिन मियाले १७३ मत ल्याएका छन् ।
२०७४ को निर्वाचनमा बानियाले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट साझा उम्मेदवार बनेर निर्वाचन लडेका थिए भने राजवंशी एक्लै काँग्रेसको उम्मेदवार थिए । त्यस निर्वाचनमा बानियाले २२ हजार ५५३ मत ल्याउँदा राजवंशीले १७ हजार ५ मत पाएका थिए ।



