भद्रपुर , मंसिर ७ । वर्षभरिमा सबैभन्दा बढी कर तिर्ने औद्योगिक–व्यावसायिक प्रतिष्ठानहरूलाई सम्मान गर्दै झापामा कर सप्ताह सम्पन्न गरिएको छ ।

आन्तरिक राजश्व कार्यालय भद्रपुरको सभाहलमा बुधवार बिहान आयोजित एक समारोहका बीच सर्वोत्कृष्ट करदातालाई सम्मान गरिएको हो ।
विधागत रुपमा झापाका तीन, इलाम सेवा कार्यालयअन्तर्गतको एक र पाँचथर सेवा कार्यालयअन्तर्गतको दुईवटा प्रतिष्ठानलाई सम्मान गरिएको समारोहका अध्यक्ष प्रमुख कर अधिकृत शुभप्रसाद रिजालले जानकारी दिए ।

समारोहमा झापाको कनिष्का ओभरसिज प्रालि मेचीनगर, अम्बे भवानी प्लाई बोर्ड उद्योग बिर्तामोड र ओम साई पाथीभरा हस्पिटल भद्रपुर सम्मानित भए भने इलामका फिक्कल उत्तम स्टोर, पाँचथरका शिव गौरी सप्लायर्स र ताप्लेजुङ बहुउद्देश्यीय सहकारी संस्थालाई सम्मान गरियो । अम्बे भवानीका तर्फबाट सञ्चालक महेश चित्लांगिया, ओम साईँका अध्यक्ष दीपक पोखरेल, फिक्कल स्टोर्सका सञ्चालक उत्तम क्षेष्ठ, शिव गौरीका तर्फबाट केदारजंग थापा र ताप्लेजुङ बहुउद्देश्यीयका तर्फबाट शारदा खतिवडालाई समारोहका प्रमुख अतिथि झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले सम्मानपत्र प्रदान गरेका थिए । फिक्कल स्टोरले यो सातौँ पटक सम्मानपत्र पाएको सञ्चालक श्रेष्ठले बताए ।

यसैगरी, उत्कृष्ट कर्मचारीका रुपमा नायव सुब्बा दीपक घिमिरे र कार्यालय सहायक बोजप्रसाद दुलाललाई पुरस्कृत गरिएको थियो । समारोहमा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ का अध्यक्ष टिकाराज ढकाल, झापा उद्योग संघका अध्यक्ष यमबहादुर श्रेष्ठ, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीलगायतले शुभकामना मन्तव्य राखेका थिए भने सञ्चालन कर अधिकृत भवानीप्रसाद दाहालले गरेका थिए ।



