झापा , मंसिर ७ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।

भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार महामन्त्री शर्मा भारी मतान्तरले विजयी भएका हुन् । उनको जितसँगै झापामा प्रतिनिधिसभा सदस्यतर्फ काँग्रेसले पहिलो खाता खोलेको छ । उनले एमालेको लालकिल्ला तोड्न समेत सफल भएका छन् ।

गठबन्धनबाट साझा उम्मेदवार बनेका शर्माले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) स्थायी कमिटी सदस्य अग्निप्रसाद खरेललाई १४ हजार २७५ मतान्तरले पराजित गरेका हुन् । शर्माले ३९ हजार ६ सय २४ मत प्राप्त गर्दा खरेलले २५ हजार ३ सय ४९ मत पाएका छन् । उनी तेस्रो पटकमा सांसद बनेका छन् । २०७० सालको संविधानसभा निर्वाचनमा पहिलो पटक काँग्रेसबाट उम्मेदवार बनेका शर्मा एमालेका रविन कोइरालासँग पराजित भएका थिए ।

त्यस्तै २०७४ सालको आम निर्वाचनमा उनी माओवादी केन्द्रका नेता सुरेन्द्रकुमार कार्कीसँग पराजित भएका थिए । ह्याट्रिक उम्मेदवारी दिएका उनी यस पटक संसद् भवन छिर्ने भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्