इलाम, मंसिर १० । इलाममा पूर्व संविधानसभा अध्यक्ष एवम् नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ र नेपाली कांग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्काबीच कडा प्रतिष्पर्धा जारी छ ।

अघिल्लो दिनसम्म एक हजार सात सय ३४ मतान्तर बनाएको नेम्बाङको अग्रता निरन्तर घटेर तीन सय ९० मा झरेपछि नेम्बाङ र खड्का चुनावी भिडन्त सर्वत्र चासोको विषय बनेको हो ।
चुलाचुली, माङसेबुङ, फाकफोकथुम गाउँपालिका एवम् माई नगरपालिकाको ६, ७,८ र देउमाई नगरपालिकाको मतगणना सकिँदा नेम्बाङ एक हजार सात सय ३४ मतले अगाडि थिए । तर इलाम नगरपालिकाको १, २, ३ र ४ बाहेक सबै मतगणनमा सकिँदा खड्काभन्दा नेम्बाङ तीन सय ९० मतले मात्रै अगाडि छन् ।

बाँकी ४ वटा वडाको मतगणनामा दुईमध्ये कसले चुनाव जित्छन् भन्ने दुवै पक्षले सहजै आकलन गर्न सकेका छैनन् । गत स्थानीय तहको निर्वाचन अनुसार वडा नम्बर २ मा एमालेको केही प्रभाव बलियो भएको दावी गरिएको छ भने बाँकी वडाहरुमा कांग्रेसको प्रभाव बलियो रहेको दावी गरिएको छ । इलाम २ मा १ लाख १५ हजार ४ सय २३ मतदाता रहेकामा ६९ हजार ८५ मत खसेको छ ।

नेम्बाङको संसदीय चुनावी यात्रा लगातार पाँचौं पटक हो । ०५६ देखि एमालेबाट लगातार त्यस क्षेत्रबाट उम्मेद्वार बन्दै आएका नेम्बाङले सबै निर्वाचन जित्दै आएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्