बिर्तामोड, मंसिर ११ ।बढ्दो आर्थिक मन्दीको मारमा मुलुकको श्रमिक बजार परेको सरोकारवालाको निश्कर्ष छ ।

आर्थिक मन्दीको मारमा उद्योग, व्यवसाय राम्ररी चल्न नसक्दा ठूलो संख्यामा श्रमिकहरुको रोजगारी खतरामा परेको आइतबार बिर्तामोडमा सम्पन्न एक कार्यक्रमका सहभागीले बताएका हुन् ।संवाद समूह झापाको संयोजनमा यूनिकम नेपालले आयोजना गरेको छलफल कार्यक्रमका सहभागीले मुलुकमा उद्योग, व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउने नीति अब बन्ने सरकारले लिनुपर्ने उनीहरुको जोड छ । उद्योग वाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष टीकाराज ढकालले सरकारले चाँडै बैंकको कर्जाबारे उद्योगी, व्यवसायीलाई सहज हुने नीति ल्याउनुपर्ने माग गरे ।

उनले उद्योग व्यवसाय नै धराप भए त्यसमा आश्रित ठूलो संख्याको श्रमिक कामविहीन हुन सक्ने बताए । उनले वर्तमान अवस्थाको समस्या समाधानका लागि उद्योगी, व्यवसायीसँगै श्रमिकले पनि सरकारलाई दबाब दिनुपर्ने धारणा राखे । महासंघ प्रदेश १ का सदस्य विनोद बस्नेतले श्रमिकको अधिकारको मात्र कुरा गर्दा उद्योगी व्यवसायीको पनि समस्याबारे जानकारी राख्न जरुरी रहेको बताए । उनले मुलुक आर्थिक मन्दीको अवस्थाबाट गुज्रिरहेको अवस्थामा यस्तो अवस्थामा श्रमिकको रोजगारी कसरी बचाउन सकिन्छ भन्ने बारेपनि बहस, छलफल हुन जरुरी रहेको बताए ।

महासंघ प्रदेश सदस्य प्रशान्त भण्डारीले रोजगारदाता र श्रमिकबीचको समस्या समाधानमा यूनिकम नेपालले खेलेको भूमिकाको प्रशंसा गरे । उनले यूनिकम नेपालको समन्वयमा झापाका विभिन्न स्थानमा रोजगारदाता र श्रमिकबीच उत्पन्न समस्याहरु सहज रुपमा समाधान भएको जानकारी गराए । यूएनआई ग्लोबल यु्नियनका कार्यक्रम संयोजक तिलकजंक खड्काले विश्व बजारमा जस्तो रोजगारदाता र श्रमिकबीचको सम्बन्ध सधैं सुमधुर हुनुपर्नेमा जोड दिए ।
उनले रोजगारदाताको व्यवसायी चले मात्र श्रमिकले रोजगारी पाउने भएकाले सोहीअनुसार आफ्ना माग सम्बोधनलगायतका कार्यक्रमहरु गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा रोजगारदाता र श्रमिकको सम्बन्ध बढाउनेगरी नियमित संवादका कार्यक्रमहरु आवश्यक रहेको यूनिकम नेपालका अध्यक्ष गजेन्द्रबहादुर पौडेलले बताए । उनले प्रदेश १ का रोजगारदाता र श्रमिकबीच आगामी दिनमा कुनै बाधा अवरोधबिना समस्याका लागि चाँडै प्रदेशस्तरीय सामाजिक संवाद कार्यक्रम गर्न लागेको जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्