इलाम, मंसिर ११ । नेकपा (एमाले) इलामका अध्यक्ष महेश बस्नेत इलाम क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका लागि निर्वाचित भएका छन् ।

पूर्व प्रधानमन्त्री तथा नेकपा समाजवादीका नेता झलनाथ खनाललाई हराउँदै उनी विजयी भएका हुन् ।

बस्नेतले २५ हजार ६९९ मत पाउँदा खनालले २३ हजार ४५ मत ल्याए । बस्नेतले जम्मा २ हजार ९ सय ५७ मतको अन्तरले खनाललाई पराजित गरेका हुन् । निर्वाचन अधिकृतको कार्यालयले आधिकारिक घोषणा गर्न भने बाँकी छ ।
समानुपातिकतर्फको मतगणना सकेर मात्र आधिकारिक रुपमा विजयी भएको घोषणा गर्ने निर्वाचन अधिकृतको कार्यालयले बताएको छ । खनाल गठबन्धनको साझा उम्मेदवार थिए । एमालेबाट ६ पटक सो क्षेत्रबाट निर्वाचित खनाल एमाले विभाजित भएपछि नेकपा (एस) मा गएका थिए ।

२०४८ बाट निर्वाचनमा होमिएका खनालको यो दोस्रो पराजय हो । यसअघि २०५६ मा नेपाली कांग्रेसका बेनुपराज प्रसाईले खनाललाई हराएका थिए । त्यस यताका निर्वाचनमा विजयी बन्दै आएका खनाल २०६८ मा २०४ दिन प्रधानमन्त्रीसमेत बनेका थिए ।
खनाललाई हराएका नेता बस्नेत खनालकै चेला हुन् । बस्नेत २०५४ र २०७४ मा इलाम नगरपालिकाकाको नगर प्रमुखमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्