झापा , मंसिर १२ । नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) चौथो दिनमा आइपुगेको छ ।

चौथो दिन सोमबारदेखि प्यानल डिसकसनका कार्यक्रम पनि सुरु हुँदैछ । त्यस्तै नेपालका दुई नाटकको मञ्चन र कार्यशाला महोत्सवमा तय छ । ‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’को रूपमा मनाइरहेको महोत्सवमा सोमबार ‘काठमाडौँले छेकेको नेपाली रङ्गमञ्चको दुःख मञ्च, दर्शक कि नाटक’ विषयक प्यानल डिस्कसन हुँदैछ । साँझ ७ः३० बजे हुने कार्यक्रममा रङ्गकर्मीहरु पोखरा थिएटरका परिवर्तन, कलालय इटहरीका सोनु जयन्ती, बुटवलबाट सुरेश सापकोटा, कणर्ाली आर्ट सेन्टरका हिरा बिजुली नेपालीसँग कदम थिएटर दमकका सिजन दाहालले अन्तरक्रिया गर्नेछन् ।

दुई नेपाली नाटक
सोमबारै केही महिनाअघि मञ्चन भएका नेपाली नाटक ‘खुवालुङः ढुंगाको बाटो’ मञ्चन हुँदैछ । साहित्यकार राजन मुकारुङ लिखित तथा किरण चामलिङ निर्देशित यस नाटक मध्यान्ह १२ र दिउँसो ४ बजे मञ्चन हुनेछ । ‘खुवालुङ’ जसले किराँती सभ्यताको इतिहासको रूपमा सदियौंदेखि सप्तकोशीको बीचमा उभिएको ढुंगाको कथा बारे बताउँछ । नाटकले सो ढुंगाको मिथ बताउँदै गर्दा, सिंगो किराँती जनताको भावनालाई नबुझी यसलाई यसलाई फुटाउने धम्की दिने सरकारको आलोचना गर्दछ । त्यस्तै साँझ ६ बजे नेपाली प्रयोगात्मक प्रस्तुति ‘इम्ब्रिओनिक’ मञ्चन हुनेछ । जसलाई केदारनाथ पौडेलले लेखन तथा निर्देशन गरेका छन् । रङ्गमञ्चमा हृदय र मस्तिष्कबीचको विरोधाभाषसँगै अस्तित्व सम्बन्धी प्रश्नहरु आउन थाल्नेछन् । यी प्रश्नहरुसँगै दर्शकहरूले आफ्नो अनुभवको आधारमा आफूभित्रको विचारहरूलाई फर्केर हेर्ने र त्यसबारे एकदमै स-साना विवरणहरु याद गर्ने प्रयास यस नाटकले गराउनेछ ।
विशेष कार्यशाला
सोमबार २ बजेदेखि एक विशेष कार्यशाला पनि हुँदैछ । ‘अपाङ्गता भएका दर्शकका लागि रङ्गमञ्च कसरी पहुँचयोग्य बनाउने’ भन्ने विषयक कार्यशाला हुन लागेको हो । रङ्गमञ्चलाई अझै समावेशी बनाउनका लागि यस कार्यशाला विशेष रहनेछ । त्यस्तै ‘कार्डबोर्ड र रङ्गमञ्च’को विषयमा अर्को कार्यशाला पनि हुँदैछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्