झापा, मंसिर १३ । सुनसरी–३ बाट दुई पटकसम्म पराजय भोगेकी नेकपा एमालेकी भगवती चौधरी तेस्रोपटक ऐतिहासिक जीत निकाल्न सफल भएकी छन् ।

अपराजित यात्रामा रहेका नेपाली कांग्रेसका उम्मेदवार तथा पाँच पटकसम्म उपप्रधानमन्त्री भइसकेका विजयकुमार गच्छदारलाई पराजित गर्दै चौधरी विजयी भएकी हुन् ।
उनको पहिलो संसदीय निर्वाचनको जितसँगै सुनसरीबाट प्रत्यक्ष प्रतिनिधिसभा जित्ने एक्ली थारु महिला बनेकी छन् । भगवतीलाई हराएर इतिहास रच्ने दाउमा रहेका गच्छदारको प्रयास यसपटक भने असफल रह्यो । दोस्रो संविधानसभा ०७० र ०७४ को प्रतिनिधिसभा निर्वाचनमा गच्छदारविरुद्ध लडेकी उनले यसपटक भने बाजी मारिन् ।

गच्छदार सुनसरी ३ बाट ०४८, ०५१ र ०५६ मा नेपाली कांग्रेसबाट विजय भएका थिए । राजनीति यात्रामा तीन दशकदेखि जित्दै आएका गच्छदार यस पटक पनि विजयको खोजीमा सुनसरी आएका थिए । तर भगवतीले यसपटक गच्छदारलाई सहज रुपमा पराजित गरिन् । अधिकांश समय राजधानीमा बस्दै आएका गच्छदार चुनाव जित्न कठिन हुने संकेत पाएपछि पछिल्लो समय निकै सक्रिय बनेका थिए ।

भगवतीलाई ०७० मा ३ सय ६४ र ०७४ को चुनावमा ३ सय २१ को झिनो मतान्तरले कठिन जित निकाल्न सफल बनेका विजय यसपटक भने संसद प्रवेश गर्नबाट बञ्चित बने । अघिल्लो चुनावमा चौधरीले गच्छदारविरुद्ध धाँधलीको आरोप लगाउँदै पुनः मतगणनाको माग गर्दै सर्वोच्चमा रिट दायर गरेकी थिइन् । तर उक्त मुद्दामा आजसम्म पेसीसमेत चढेन । भगवतीले गच्छदार सत्तामा रहेको कारण उक्त मुद्दामा अदालतले न्याय दिन नसकेको भन्दै आएकी थिइन् ।
उनले इटहरी–११ को थारु बस्तीमा भएको पहिलो चुनावीसभामा अदालतले न्याय दिन नसके पनि जनताले न्याय गर्ने बताएकी थिइन् । उनले भनेझै यसपटक जनताले भारी मत दिँदै भगवतीलाई संसदमा पठाएका छन् ।

गच्छदारले भने तीन दशकयता सरकारमा रहे पनि आफ्नो पुरानो विरासत जोगाउन सकेनन् । पटकपटक जिते पनि अपेक्षाअनुरुप जनताको समस्या सम्बोधन गर्न नसक्दा गच्छदारको नतिजा उल्टो आएको स्थानीय अगुवाहरू बताउँछन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्