झापा, मंसिर १४ । एक महिनामा करिब ६ लाख मोबाइल प्रयोगकर्ता घटेका छन्।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार गत असारको तुलनामा साउनमा पाँच लाख ८० हजारभन्दा बढी मोबाइल प्रयोगकर्ता घटेको पाइएको हो । प्राधिकरणका अनुसार असारसम्म नेपालमा मोबाइल प्रयोग गर्नेको संख्या चार करोड सात लाख ९३ हजार थियो । साउनमा चार करोड दुई लाख १० हजारमा सीमित भएको छ । मोबाइल प्रयोगकर्ताको यो संख्यामा सीडीएमए प्रयोगकर्ता जोडिएको छैन । यो जीएसएम मोबाइल प्रयोगकर्ताको मात्र संख्या हो। सेवा प्रदायकले लामो समय प्रयोगविहीन रहेका मोबाइल सिमकार्ड निष्क्रिय बनाउँदा प्रयोगकर्ताको संख्या तथ्यांकमा घट्ने गरेको छ । प्राधिकरणले एक वर्षसम्म प्रयोग नभएका सिमकार्ड सेवा प्रदायकले निष्क्रिय बनाउन सक्ने व्यवस्था लागू गरेको छ ।

प्राधिकरणका अनुसार कुल मोबाइल प्रयोगकर्तामध्ये नेपाल टेलिकमको सिमकार्ड प्रयोग गर्नेको संख्या दुई करोड सात लाख नाघेको छ । त्यस्तै एनसेलको सिमकार्ड प्रयोग गर्ने एक करोड ७१ लाखमाथि छन् । स्मार्ट टेलिकमले करिब २४ लाख सिमकार्ड बिक्री गरेको छ । घटेका मोबाइल प्रयोगकर्तामध्ये अधिकांश नेपाल टेलिकमका ग्राहक छन् । असारसम्म टेलिकमले दुई करोड १३ लाख ७७ हजार सिमकार्ड बिक्री गरेकामा साउनमा यो संख्या घटेर दुई करोड सात लाखमा सीमित भएको छ । यो अवधिमा टेलिकमका मात्र छ लाख ७४ हजारभन्दा धेरै ग्राहक घटेका छन्। एनसेलका प्रयोगकर्ता बढेका छन्। नेपालमा मोबाइल प्रयोगकर्ताको यो संख्या जनसंख्याको अनुपातमा भने अधिक बढी हो । प्राधिकरणका अनुसार कुल जनसंख्याभन्दा ३८.८४ प्रतिशत बढी मोबाइल प्रयोग भएको छ । जनसङ्ख्याभन्दा बढी मोबाइलको पहुँच देखिनुमा एकै प्रयोगकर्ताले एकभन्दा बढी सिमकार्ड प्रयोग गर्नु हो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्