झापा , मंसिर १५ । अमेरिकी संसदको उच्च सदन सिनेटले समलैङ्गिक र अन्तरजातीय विवाहको कानूनी संरक्षणका लागि एक ऐतिहासिक विधेयक पास गरेको छ ।

यो विधेयक अब अमेरिकी संसदको प्रतिनिधि सभामा जानेछ जहाँबाट यो पास हुने आशा जताइँदै छ । त्यसपछि यो विधेयक अमेरिकी राष्ट्रपति समक्ष जानेछ । विधेयक समर्थकले प्रतिनिधि सभामा रिपब्लिकन पार्टीको नियन्त्रण हुनु अघि यो विधेयक पास हुने आशा राखेका छन् । हालै भएको अमेरिकी मध्यावधि चुनावमा रिपब्लिकन पार्टीले प्रतिनिधि सभामा बहुमत हासिल भएको छ । यस्तै सिनेटमा डेमोक्रेटिक पार्टीको बहुमत कायमै छ । यो विधेयक अन्तर्गत अमेरिकाको सबै राज्यमा समलैङ्गिक विवाहलाई कानूनी दर्जा दिने बाध्यता छैन । सर्वोच्च अदालतले गर्भपतनको संघीय अधिकार खारेज गरेको फैसलापछि यो विधेयक पारित गर्ने प्रयास सुरु भएको हो । एलजीबीटी अधिकारका समर्थकले समलिङ्गी विवाहसँग सम्बन्धित कानून आगामी दिनमा खतरामा पर्न सक्ने विश्वास गर्छन् । मंगलबार यो विधेयक ३६ विरुद्ध ६१ मतले पारित भएको थियो । जसमध्ये १२ रिपब्लिकन सिनेट सदस्यहरुले यस विधेयकको पक्षमा मतदान गरे । धार्मिक स्वतन्त्रतासँग सम्बन्धित प्रावधान थपेपछि रिपब्लिकन पार्टीका केही सिनेट सदस्यहरुले यो विधेयकलाई समर्थन गरेका छन् ।

‘समानताको दायरा बढाउने दिशामा उठाइएको कदम’
यो विधेयकको उद्देश्य समलैङ्गिक विवाहको अधिकारलाई संघीय कानूनमार्फत् सुरक्षा दिनु हो । यद्यपि, सर्वोच्च अदालतको एक निणर्य अन्तर्गत पूरा अमेरिकामा यस्तो खालको सम्बन्धलाई पहिले नै संरक्षण पाएको छ । अमेरिकी सिनेटका नेता चक सुमरले यो समाजमा समानताको दायरा बढाउने दिशामा उठाइएको एक महत्वपूणर् कदम भएको बताएका छन् । उनले भने, ‘यो विधेयकलाई स्वीकार गरेर सिनेटले एउटा यस्तो सन्देश दिइरहेको छ जुन प्रत्येक अमेरिकी नागरिकले सुन्न आवश्यक छ – तपाईं को हो र कोसँग प्रेम गर्नुहुन्छ भन्ने कुरा यहाँ महत्वपूणर् होइन, तपाईं कानून अन्तर्गत सम्मान र समान व्यवहारका अधिकारी हुनुहुन्छ ।’ यो विधेयक पेश गर्ने डेमोक्रेटिक पार्टीकी सिनेटर टेमरी बाल्डविन हुन् जसले सार्वजनिक रुपमा आफू समलिङ्गी भएको स्वीकार गरेका छन् । बाल्डबिनका अनुसार यो विधेयकले अमेरिकामा विवाह गर्ने समानताको अधिकार हासिल गर्ने दिशामा जुन प्रगति भएको छ , त्यसको रक्षा गर्नेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्