झापा , मंसिर १५ । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि हालसम्म १६२ स्थानको मतपरिणाम सार्वजनिक भइसकेको छ ।
दोखलाका १० मतदान केन्द्रमा आज पुनः मतदान जारी छ भने स्याङ्जामा मतगणना जारी छ । हालसम्मको मतपरिणाम अनुसार प्रतिनिधिसभा सदस्यमा निर्वाचित ३२ जना अर्थात् करिब २० प्रतिशत आदिवासी जनजाति रहेका छन् । जसअनुसार नेकपा (एमाले) का तर्फबाट धनकुटा-१ बाट राजेन्द्रकुमार राई, पाँचथर-१ बाट वसन्तकुमार नेम्वाङ, सोलुखुम्बु-१ मा मानवीर राई, खोटाङ-१ मा रामकुमार राई, इलाम-२ बाट सुवास नेम्वाङ, झापा-४ बाट लालप्रसाद साँवा लिम्बू निर्वाचित भएका छन् । प्रतिनिधिसभा सदस्यमा आदवासी जनजातिमा नेपाली कांग्रेसका तर्फबाट तेह्रथुम-१ मा सीता गुरुङ, मोरङ-१ मा डिगबहादुर लिम्बू, रामेछाप-१ मा पूणर्बहादुर तामाङ, मनाङ-१ मा टेकबहादुर गुरुङ र मुस्ताङ-१ मा योगेश गौचन थकाली निर्वाचित भएका छन् । नेकपा (माओवादी केन्द्र) का बाट भोजपुर-१ मा सुदन किराँती, काभे्रपलाञ्चोक(१ मा सूर्यमान तामाङ (दोङ), नुवाकोट-१ मा हितबहादुर तामाङ, रुकुमपूर्व- १ मा पूणर्बहादुर घर्तीमगर, रोल्पा १ मा वर्षमान पुन, हुम्ला १ मा छिरिङ डम्डुल लामा (भोटे) निर्वाचित भएका छन् । त्यसैगरी नेकपा (एकीकृत समाजवादी) का तर्फबाट डोटी-१ मा प्रेमबहादुर आले, डोल्पा-१ मा धनबहादुर बुढा, बारा-४ मा कृष्णकुमार श्रेष्ठ, डोल्पा-१ मा धनबहादुर बुढा, दैलेख(१ मा अम्मरबहादुर थापा गरी पाँच जना सदस्य रहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट झापा- १ मा राजेन्द्रप्रसाद लिङ्देन र जनता समाजवादी पार्टी, नेपालका तर्फबाट सुनसरी-१ मा अशोककुमार राई निर्वाचिन भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौँ-८ मा विराजभक्त श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीबाट कैलाली १ बाट निर्वाचित रञ्जिता श्रेष्ठ पनि आदिवासी जनजाति हुन् ।




