झापा,मंसिर १५ । जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढीमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ।

कार्यालयले सूचना जारी गर्दै बिहीबार साँझ ७ बजेबाट अर्को निर्णय नहुँदासम्मका लागि निषेधाज्ञा जारी गरेको हो।
ग्रेडरले च्यापिएर बिहीबार बिहान सवा १० बजे विद्यार्थीको मृत्यु भएपछि धनगढीमा तनाव उत्पन्न भएको थियो।
धनगढी उपमहानगरपालिका–५ हसनपुर पिपलचौतारा नजिकै आज बिहान ग्रेडरले कुल्चिएर पञ्चोदय माविमा कक्षा ८ मा अध्ययनरत १४ वर्षीया छात्रा चेतना साउदको मृत्युपछि विद्यार्थीहरू दिनभर आन्दोलनमा उत्रिए।
उक्त विद्यालयका विद्यार्थीले आन्दोलन गर्दै धनगढी–स्याउले सडक अवरुद्ध पारे। उनीहरूले दिउँसो धनगढी बजारका विभिन्न ठाउमा टायर जलाउँदै सडक अवरुद्ध पारेका थिए।
जिल्ला प्रहरी कार्यालयको गेटमा टायर बालेर नाराबाजी गरेपछि प्रहरीले ६ राउन्ड अश्रुग्यास प्रहार गरेको थियो।
आज बिहान हसनपुर पिपलचौतारा नजिकै ना १ क ९७५ नम्बरको कालिका कन्स्ट्रक्सनको ग्रेडरले लेबल मिलाउँदै ब्याक गर्ने क्रममा कुल्चिँदा धनगढी उपमहानगरपालिका–५ तारानगरकी साउदको मृत्यु भएको थियो।
चालक चितवन भरतपुर महानगरपालिका २८ वर्षीय बिमल कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले बल प्रयोग गरेर शव सेती प्रादेशिक अस्पतालमा लगेको छ।