भद्रपुर, मंसिर १५ । झापाको भद्रपुरमा टिपरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भद्रपुर नगरपालिका– ७ स्थित मेघाटोल निवासी ११ वर्षीया शिल्पा ऋषिदेव रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
भद्रपुर– ७ स्थित अञ्जनीमोडमा बिहीबार दिउँसो १२ बजे गार्मेटचोकबाट हल्दिबारीतर्फ गइरहेको प्र–१–००१–क–७७ नम्बरको टिपरले सोही दिशातर्फ गइरहेको साइकलयात्री बालिका ऋषिदेवलाई ठक्कर दिएको थियो ।

टिपरको ठक्करबाट गम्भीर घाइते भएकी बालिकालाई उपचारका लागि भद्रपुरस्थित ओमसाई पाथिभरा हस्पिटल पुर्याएको र त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी हस्पिटल लगिएको थियो । उनको सोही हस्पिटलमा उपचारको क्रममा दिउँसो साढे ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । टिपर हल्दिबारीको प्रगती इँटाभट्टाको हो । टिपर चालक हल्दिबारी गाउँपालिका– २ निवासी २१ बर्षीय जितलाल राजवंशी हुन् । उनको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छैन । टिपर र टिपर चालक राजवंशीलाई जिल्ला प्रहरी कार्यालय झापाले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्