झापा, मंसिर १६ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावअन्तर्गत बाजुरा, दोलखा र स्याङ्जा–२ मा मतगणना चलिरहेको छ । गणना भइरहेका तीन क्षेत्रमा गठबन्धनका उम्मेदवार अगाडि रहेका छन् ।

बाजुरामा हिजो बेलुकादेखि मतगणना सुरु भएको हो । पछिल्लो विवरण अनुसार कांग्रेसका बद्रि पाण्डेले ५ हजार १०६ मत प्राप्त गरेका छन् ।त्यस्तै उनका प्रतिस्पर्धी एमालेका कर्ण थापाले ३ हजार ९९४ मतसहित पछ्याइरहेका छन् ।
दोलखामा पनि मतगणना सुरु भएको छ । प्रारम्भिक विवरण अनुसार माओवादी केन्द्रका गङ्गाबहादुर कार्कीले १ हजार ३५३ मतसहित अग्रता लिएका छन् । उनका प्रतिस्पर्धी एमालेका बालकृष्ण सिवाकोटीले ७३६ मत प्राप्त गरेका छन् ।
दोलखाका १० वटा मतदान केन्द्रमा हिजो मतदान भएको थियो । मंसिर ४ गते भएको मतदानमा विवाद भएपछि निर्वाचन आयोगले पुनः मतदान गराउने निर्णय गरेको थियो ।
यस्तै, स्याङ्जाको क्षेत्र नम्बर–२ मा मतगणना भइरहेको छ । पछिल्लो विवरण अनुसार नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता लिइरहेका छन् । उनले नेकपा एमालेकी पद्माकुमारी अर्याललाई २४ सयभन्दा धेरै मतले पछि पारेका छन् । कांग्रेसका धनराज गुरुङको ११ हजार ९२० र एमालेका पद्माकुमारी अर्यालको ९ हजार ५०२ मत रहेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले ५ हजार १९२ मत ल्याएका छन् ।