बिर्तामोड, मंसिर १६ । यही मंसिर २१ गते इकाइगत साधारणसभा शुरु भई पुष २८ गते माइन्युट प्रमाणीकरण गर्नेगरी कर्णाली बचत तथा ऋण सहकारी संस्थाले २२ औं बार्षिक साधारणसभाको प्रतिवेदन सार्वजनिक गरेको छ ।

झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ४ मा मुख्य कार्यालय रहेको कर्णाली साकोसले शुक्रवार पत्रकार सम्मेलन गरी वार्षिक प्रतिवेदन सार्वजनिक गरेको हो । झापा, इलाम र मोरङ गरी तीनवटा जिल्लामा हाल ३९ वटा सेवाकेन्द्रबाट कार्यसम्पादन गर्दै आएको संस्थाले दमकमा मंसिर २१ गते, सुरुङ्गामा मंसिर २७ गते, उर्लाबारीमा मंसिर २८ गते, भद्रपुरमा पुष ३ गते, धुलाबारीमा पुष ६ गते, बिर्तामोडमा पुष १४ र १७ गते इकाईगत साधारणसभा सम्पन्न गर्ने र पुष २४ गते अन्तिम माइन्यूट प्रमाणीकरण गरेर साधारणसभा सम्पन्न गरिने संस्थाका अध्यक्ष टसबहादुर प्रधानले जानकारी दिए ।
अध्यक्ष प्रधानका अनुसार आर्थिक बर्ष २०७८÷०७९ मा संस्थामा रहेका ५० हजार ६८४ जना सदस्यमध्ये १५४१ जना निष्कृय सदस्यको शेयर रकम १ लाख ५४ हजार १०० रुपैयाँ र बचत रकम १ लाख ३० हजार १७५ रुपैयाँ ९७ पैसा समेत गरी २ लाख ८४ हजार २७५ रुपैयाँ ९७ पैसा दायित्व भुक्तानी दिनु पर्नेमा राखेर पुनः सदस्यहरुलाई भुक्तानीका लागि सूचना जारी गरिने र सूचनाको अवधिभर बचत र शेयर फिर्ता नलिए उक्त रकम जगेडा कोषमा जम्मा गरी सदस्यता खारेजी गरिने प्रस्ताव अगाडि सारिएको छ । त्यस्तै आ.ब. २०७९÷८० मा निष्कृय भएका १६५२ जना सदस्यलाई छनोट गरी सदस्यता खारेजीको प्रस्ताव गरिएको अध्यक्ष प्रधानले बताए । उक्त निष्कृय सदस्य र ३४ वटा गैर नाफामुलक संस्था बाहेक आव २०७९ असार मसान्तसम्ममा संस्थामा कुल ४७ हजार ४५७ सदस्य रहेको पत्रकार भेटघाटका क्रममा जानकारी दिइएको थियो ।


संस्थाले यस आर्थिक बर्षमा बिभिन्न समस्यामा परेका ऋणी शेयर सदस्यहरुलाई १३ लाख ४२ हजार ८७७ रुपैयाँ २८ पैसा ब्याज छुट, संस्थाको नीति तथा कार्यक्रम अनुसार सदस्यहरुको परिवारको मृत्यु अन्तर्गत ७७२ जनालाई ६९ लाख ३ हजार ९८० रुपैयाँ, उपचार खर्च वापत ११५१ जनालाई १ करोड ६७ लाख ३४ हजार १४८ रुपैयाँ र ३२ जना ऋणी सदस्यको मृत्युमा १९ लाख २१ हजार ६०१ रुपैयाँ कर्जा मिनाह गरिएको प्रतिवेदनमा उल्लेख छ ।


प्रतिवेदनका अनुसार आर्थिक बर्ष २०७८÷०७९ सम्ममा संस्थाको शेयर ४३ करोड ७४ लाख ४ हजार १०० रुपैयाँ, बचत मौज्दात १ अर्ब ८७ करोड २६ लाख ८३ हजार ९३० रुपैयाँ, लगानीमा रहेको ३ अर्ब ४६ करोड ७९ लाख ४० हजार १२३ रुपैयाँ, जगेडा कोष १० करोड ७८ लाख ८८ हजार ४०२ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै संस्था स्थिर सम्पत्ति १२ करोड ७५ लाख १३ हजार ११३ रुपैयाँ रहेको जनाइएको छ । यस आर्थिक बर्षमा संस्थाले १० करोड ७ लाख ४८ हजार ४२० रुपैयाँ ५२ पैसा नाफा गर्न सफल भएको अध्यक्ष प्रधानले जानकारी दिए ।
प्रतिवेदन सार्वजनिक कार्यक्रममा संस्थाका कोषाध्यक्ष एकराज बिष्ट, सञ्चालक समिति सदस्य गणेशप्रसाद पराजुली, गुञ्जन थापा, जानुका न्यौपाने ओली, निर्मला पाठक लुइटेल, कुमारीदेबी खड्का भट्टराईलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाका कार्यकारी प्रमुख कुमार याक्सोले गरेका थिए ।