एजेन्सी । फिफा विश्वकप फुटबलमा गएराति भएको खेलमा समूह ‘जी’ अन्तर्गत क्यामरुनले ब्राजिललाई १–० गोलले हराएको छ ।

कतारको लुसिअल स्टेडियममा भएको खेलमा ब्राजिल क्यामरुनसँग पराजित भएको हो । पराजित भएपनि समूह विजेता बनेको ब्राजिल अन्तिम १६ अर्थात् नकआउट चरणमा पुगेको छ ।
क्यामरुनका लागि भिन्सेन्ट अबुबाकरले इन्जुरी समयमा गरेको गोल नै निर्णायक बन्यो । गोल गरेपछि उनी दुई पहेँलो कार्डसहित रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।

जितसँगै तीन खेलमा चार अंक जोडेको क्यामरुन समूह चरणबाटै बाहिरिएको छ । समान खेलमा ६ अंक जोडेको ब्राजिल समूहको शीर्ष स्थानमा रहेको छ ।
यस्तै, गएराति भएको खेलमा उरुग्वेले घानालाई २–० गोलले पराजित गरेको छ । पराजित घाना समूह चरणबाट बाहिरिएको छ । उसले ३ खेलमा ३ अंक जोडेको थियो। उरुग्वे समूह ‘एच’ को तेस्रो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ । दक्षिण कोरियासँग गोल अन्तरमा पछि परेको उरुग्वे समान अंक जोडेपनि बाहिरिएको हो ।

यस्तै, गएराति भएको अर्काे खेलमा स्विट्जरल्यान्डले सर्बियालाई ३–२ गोलले हराएको छ । जितसँगै ३ खेलमा ६ अंक जोडेको स्विट्जरल्यान्ड राउन्ड अफ १६ मा प्रवेश गरेको छ । जितसँगै स्विट्जरल्यान्ड समूह ‘जी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्