झापा, मंसिर १७ । ३१ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा झापामा अपाङ्गता भएका व्यक्तिहरुलाई विभिन्न राहत सामग्री वितरण गरिएको छ ।

उनीहरुलाई व्हिल चेयर , न्यानो कपडा, एल स्टिकलगायतका सामग्री वितरण गरिएको हो । झापा नेत्रहीन संघ, मेची बहिरा संघ,बिर्तामोड अपाङ्गता स्वावलम्बन संस्थाको संयुक्त आयोजनामा बिर्तामोड नगर परिक्रमासहित देवी माध्यमिक विद्यालयमा औपचारिक कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा बोल्दै बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईंले अपाङ्गता भएका व्यक्तिहरुलाई दिइएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्नमा उनीहरु नचुक्ने भएकाले समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनु पर्ने कुरामा जोड दिइन् ।त्यस अवसरमा कार्यक्रमकी प्रमुख अतिथि नगर प्रमुख प्रसाईंले अपाङ्गता भएका व्यक्तिहरुलाई एल स्टिक, न्यानो कपडा वितरण गरेकी थिइन् । सन् १९९२ बाट हरेक वर्ष डिसेम्बर ३ मा विश्व अपाङ्गता दिवस मनाइने गरिएको छ ।

त्यस्तै हाम्रो बाह्रदशी अपाङ्गता अभियानसंगको सहकार्य, रोटरी क्लब अफ बिर्तामोड मिडटाउन तथा नेपाल शैक्षिक परामर्श संघ(इक्यान) झापा शाखाको आर्थिक सहयोग र नेपाल स्काउट बाह्रदशीको आयोजनामा व्हिल चेयर तथा न्यानो कपडा वितरण गरिएको छ । अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको उपलक्ष्यमा बाह्रदशी ३ राजगढ बजारस्थित सामुदायिक भवनमा कार्यक्रम गरी व्हिल चेयर तथा न्यानो कपडा वितरण गरिएको हो ।

प्रतिनिधिसभाका सदस्य राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्य रहेको कार्यक्रममा प्रदेशसभा सदस्य छविलाल चुडाल, रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका अध्यक्ष सुमन शर्मा जमरकट्टेल , बाह्रदशी गाउँपालिकाकी पूर्व उपाध्यक्ष रत्ना राजवंशीलगायतको बिशेष आतिथ्यता रहेको थियो । अभियानका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य लिङ्देन ,प्रदेशसभा सदस्य चुडाल , रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका अध्यक्ष जमरकट्टेल, बाह्रदशी १ का पूर्व वडाध्यक्ष शम्भुसिंह राजवंशी, बाह्रदशी स्काउटका संयोजक अनिल सापकोटालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको संचालन रुद्रलाल दुलालले गरेका थिए । कार्यक्रममा बाह्रदशीका मुस्कान खातुन र आस्था अधिकारीलाई व्हिल चियर प्रदान गरिएको थियो । त्यस्तै बाह्रदशी अपाङ्गता अभियानभित्रका अति विपन्न १५ परिवारलाई न्यानो कपडा वितरण गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्