झापा, मंसिर १८ । झापाको दक्षिणी क्षेत्रमा पञ्चायतकालदेखि राजनीति गर्दै आएका पुराना राजनीतिकर्मी गणपति यादवको हिजो अन्त्येष्टि गरिएको छ ।

उनको आफ्नै जग्गामा जातीय संस्कार अनुसार अन्त्येष्टि गरिएको हो ।
प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पनर्टीको झण्डा ओढाएर श्रद्धाञ्जली दिएका थिए । अन्त्येष्टिमा राप्रपाका केन्द्रीय सदस्यहरु रामकुमार सिंह राजवंशी , अन्जरा आलम , जिल्ला सदस्य निमसरी राजवंशीलगायतको उपस्थिति रहेको थियो । ७९ वर्षको उमेरमा कचनकवल १ घेरावारी निवासी यादवको हिजो बिहान ४.३० बजे निधन भएको थियो । उनलाई उच्च रक्तचापको समस्या रहेको थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीमा सक्रिय रुपमा काम गरिरहेका यादव साविक झापा क्षेत्र नं ४ को पार्टीको कोषाध्यक्ष रहेका थिए । उनी पञ्चायतकालमा साविक घेरावारी गाउँ पञ्चायत वडा नं ४ को दुईपटक वडाध्यक्ष भएका थिए । त्यसपछि बहुदलीय व्यवस्थामा पनि उनी घेरावारी गाउँ विकास समिति वडा नं ४ को वडाध्यक्षमा निर्वाचित भएका थिए । राजनीतिसंगै प्रहरी चौकी स्थापनालगायत विभिन्न सामाजिक कार्यमा उनले योगदान दिएका थिए ।

स्वर्गीय यादवका पाँच जना छोरा रहेका छन् । जेठा छोरा लक्ष्मीनारायण यादव कचनकवल १ का पूर्व वडाध्यक्ष हुन् । त्यस्तै साइला छोरा सत्यनारायण यादव राप्रपाका जिल्ला सदस्य हुन् । त्यस्तै माइला छोरा श्यामनारायण , काइला छोरा जयनारायण र कान्छा छोरा देवनारायण यादव खेतीपाति र व्यवसायमा संलग्न छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्