झापा , मंसिर १९ । नेफ्टा फिल्म अवार्डको ११ औं संस्करण अमेरिकाको टेक्सासमा आयोजना हुने भएको छ ।

आयोजक संस्था चलचित्र प्राविधिक संघले प्रेस विज्ञप्ति जारी गर्दै आगामी जेठ १३ गते (२७ मे, २०२३) अवार्ड हुन लागेको जनाएको छ । यसअघि मलेसिया, हङकङ, कतार र युएईको दुबईमा अवार्ड गरिसकेको नेफ्टाले पाँचौंपटक विदेशी भूमिमा कार्यक्रम गर्न लागेको हो । अध्यक्ष पुष्कर लामाले नेपाली फिल्मको अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने उद्देश्यले अवार्ड गर्न लागिएको बताए । अमेरिकी संस्करणको अवार्डका लागि नेफ्टाले फेम नेपाल, आर्यन फिल्मस् र युएस खबर लगायतका संस्थासँग सहकार्य गर्दैछ । फिल्मको अन्तर्राष्ट्रियकरण प्राविधिक संघको कार्यभार बनेको चर्चा गर्दै अध्यक्ष लामाले डायस्पोरा घरेलु फिल्मको ठूलो बजार बन्न लाग्नु शुभ संकेत भएको बताए । अवार्ड आयोजनका लागि गैरआवासीय नेपाल संघ र कूटनीतिक नियोगसँग पनि समन्वय गर्ने जानकारी अध्यक्ष लामाले दिए । चीन र भारतजस्ता विश्वका दुई ठूला फिल्म बजारको बीचमा रहेको नेपालले लाभ लिन नसकेको चर्चा गर्दै अध्यक्ष लामाले विश्वलाई नेपाली फिल्मसँग जोड्ने पुलको रुपमा नेफ्टा अवार्डले भूमिका खेल्ने चर्चा गरे । कोरोना महामारीको कारण अघिल्लो वर्ष अवार्ड हुन सकेको थिएन । तर, महामारी सकिएपछि फिल्म क्षेत्रमा लयमा फर्किएसँगै नेफ्टाले कार्यक्रम गर्न लागेको हो । यसपटकको संस्करणमा २०७९ सालभित्र रिलिज भएका फिल्म सहभागी हुनेछन् । ४२ विधामा वितरण हुने अवार्डमा जुरीले बैशाखमै फिल्म हेर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्