झापा , मंसिर १९ । प्रदेश- १ को प्रदेश लोक सेवा आयोगले स्थानीय तहका लागि कर्मचारी माग गरेको छ ।

सोमबार सार्वजनिक सूचना जारी गर्दै ३१६ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो । स्थानीय सरकारी सेवाका विभिन्न सेवा समूहका प्राविधिकतर्फका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि आवेदन आह्वान गरिएको सूचनामा उल्लेख छ । आह्वान गरिएकामध्ये २१७ जना खुलातर्फका छन् । महिलाका लागि ४६ पदमा दरखास्त खुलाइएको छ भने १४ वटा कोटा मधेसीका लागि छुट्याइएको छ । दलितका लागि एउटा मात्रै कोटा दिइएकोमा बाँकी आदीवासी जनजाती कोटामा दरखास्त खुलाएको छ । १७ जना भने आन्तरिक प्रतिस्पर्धामार्फत भिड्ने छन् । योग्यता पुगेका उमेदवारले पुस १० गतेसम्म अनलाइनमार्फत दरखास्त दिनसक्ने छन् । प्रतियोगितात्मक परीक्षाबाट छनोट भएका उमेदवारहरूको रोजाई प्राथमिकता क्रमअनुसार स्थानीय तह तोकी सिफारिस गरिने पनि आयोगले स्पष्ट पारेको छ । सिफारिस भएका उमेदवारलाई सम्बन्धित स्थानीय तहले नै स्थायी नियुक्ति दिनेछन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्