झापा, मंसिर १९ । अंग्रेजी विषय पढाउने महिला शिक्षकहरुलाई उत्प्रेरित गर्दै दक्ष बनाउन पहिलोपटक झापामा महिला अंग्रेजी शिक्षकहरुको सम्मेलन हुने भएको छ ।

नेपाल इङ्गिलस टिचर्स एशोसिएसन( नेल्टा) झापाको आयोजनामा यही मंसिर २३ र २४ गते बिर्तामोडमा दुईदिने सो सम्मेलन हुने भएको हो ।

महिला अंग्रेजी शिक्षकहरुलाई मोटिभेट गरी लिडरसीप र टेक्नोलोजीका बारेमा जानकारी दिने उद्धेश्यले सम्मेलन आयोजना गर्न लागिएको सोमवार आयोजित पत्रकार सम्मेलनमा नेल्टा झापाका अध्यक्ष धर्मेन्द्र भट्टराईले बताए । लिटल फ्लावर्स स्कूलमा आयोजना गर्न लागिएको सम्मेलनमा प्रोफेसर मोतिकला सुब्बा देवान,नेल्टाका सल्लाहकार हेमन्तराज दाहाल , प्रोफेसर लक्ष्मण ज्ञवाली,युनिसेफका शिक्षा विज्ञ वैशाली प्रधान , टोस्ट मास्टर्स क्लबकी अध्यक्ष एन्जिला विष्टसहित सातजना विज्ञहरुले तालिम दिने अध्यक्ष भट्टराईले जानकारी दिए । उनले अमेरिकाबाट डा. टुन्दे र डा. आस्ते प्रशिक्षकको रुपमा आउनेसमेत जानकारी दिए ।

सम्मेलनमा सामुदायिक , संस्थागत र कलेजका गरी झापाका करिव ३०० महिला अंग्रेजी शिक्षकहरुको सहभागिता रहने जनाइएको छ । उनीहरुलाई दुईदिनको रु एक हजार प्रवेश शुल्क तोकिएको छ । पत्रकार सम्मेलनमा नेल्टाका उपाध्यक्ष केशव मैनाली ,सचिव टीकाप्रसाद सुवेदी , सदस्य केशव उप्रेती र प्रकाश पराजुलीले पनि कार्यक्रमको तयारीबारे जानकारी दिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्