झापा , मंसिर २० । नारायण गोपाल स्मृति प्रतिष्ठान बिर्तामोड ३ को आयोजनामा ३२ औं नारायण गोपाल स्मृति साँझ कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ ।

प्रतिष्ठानका अध्यक्ष मोहन शिवाकोटीको अध्यक्षतामा बिर्तामोडको सिटी सेन्टरमा भएको कार्यक्रमको प्रमुख अतिथि गीतकार तथा संगीतकार बुलु मुकारुङ्ग रहेका थिए । कार्यक्रममा आकर्षणको रुपमा सारेगमप इन्डियाका तेश्रो विजेता प्रितम आचार्य र सारेगमप लिटिल च्याम्पस् नेपालकी विजेता कृपा पौडेल रहेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि मुकारुङले ‘इलामे शहर चियाबारी राम्रो ’ बोलको गीत गाएका थिए । त्यस्तै प्रितम आचार्यले ‘वीरताको चिनो , गल्ती हजार हुन्छन् , आजभोलि हरेक साँझ’ बोलको गीत गाएर दर्शकहरुलाई भरपूर मनोरञ्जन दिएका थिए । कार्यक्रममा प्रदेश सांसद एकराज कार्की, जिल्ला समन्वय समितिकी उपप्रमुख शान्ता रोक्का, बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाई, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोख्रेललगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रतियोगीबीच गायन प्रतियोगिता समेत गराइएको थियो । जसमा सप्तक संगीत विद्यालयका प्रशान्त पोखरेल प्रथम , गुरुकुल संगीत विद्यालयका चुम्लुङहाङ लिम्बू दोस्रो र सप्तक इन्स्टिच्यूट अफ परफेन्स एन्ड आर्टका आयुष घिमिरे तेस्रो भएका छन् । त्यस्तै रागिनी संगीत विद्यालयकी सुम्निमा राई , रियाज संगीत पाठशालाकी जानु थापा , संगीत साधना कला केन्द्रकी डिया काफ्ले , दुर्गा माविका समीर अधिकारी , सुरभी कला केन्द्रकी ताया राईले सान्त्वना पुरस्कार पाएका छन् । प्रथम , दोस्रो र तेस्रो हुनेले क्रमशः १० हजार , ७ हजार र ५ हजार पाएका थिए । सान्त्वना हुनेहरुलाई १५ सय रुपैयाँका दरले पुरस्कृत गरिएको थियो । कार्यक्रमको संचालन अध्यक्ष शिवाकोटी र सचिव रुद्र सिटौलाले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्