झापा , मंसिर २२ । पछिल्लो समय सिक्वेल फिल्म निर्माण बढेको छ ।

यस्तैमा हिट फिल्म ‘इकु’ को तेस्रो सिरिज ‘इकु ३’ निर्माण हुने भएको छ । ‘इकु ३’ पनि सुलेमान शंकरले नै निर्माण गर्न लागेका हुन् । अगामी चैतबाट छायांकन थाल्ने गरेर फिल्मको स्क्रिप्ट लेखनको काम भैरहेको छ । सानोपर्दाको टेलिश्रृखला ‘मेरी बास्सै’ मा जंगलमा बस्ने एकपात्र ‘इकु’ को भुमिका निर्वाह गरेर हिट भएपछि सुलेमानले यस्तै कथामा २००८ मा फिल्म ‘इकु’ बनाएका थिए । त्यसपछि ‘इकु ः ब्याक अगेन’ बनाएका सुलेमानले अहिले यसैको तेस्रो सिक्वेल बनाउन लागेका हुन् । फिल्ममा सुलेमानकै अभिनय तथा निर्माण रहनेछ । अन्य कलाकार भने छनौटको क्रममा छन् । ‘अघिल्ला दुई श्रृंखला जंगलमा आधारित भएकोले यो पनि त्यस्तै कथामा बन्ने छ’ सुलेमानले भने ‘जंगल र जनावर बिना त ‘इकु’ सिरिज अधुरो हुन्छ । यसपटक जंगलका साथै गाउँमा पनि फिल्म छायांकन हुन्छ ।’ कमेडी कथावस्तुमा निर्माण हुन लागेको फिल्मलाई २०८१ सालको नयाँ वर्षमा प्रदर्शन गर्ने उनको योजना छ । ‘इकु’ का अघिल्ला दुवै श्रृंखलालाई सागर लामिछानेले निर्देशन गरेका थिए । ‘इकु ३’का लागि भने निर्देशक फाइनल गरिएको छैन । सुलेमानले केही अगाडि फिल्म ‘फिर्के’ निर्माण गरेका थिए । जसको ब्यवसाय राम्रो हुन सकेन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्