झापा, मंसिर २२ । चालू आर्थिक वर्षको चार महिनाको तथ्यांकले यो वर्ष वैदेशिक रोजगारीमा करिव ८ लाख युवा जाने देखाएको छ ।
कुल जनसंख्याको करिव ३ प्रतिशत वार्षिक रुपमा विदेश जान थालेपछि मुलुकको आन्तरिक श्रम बजारको अवस्था कस्तो होला ? अहिले नै नेपाली निजी क्षेत्रले सबै प्रकारका (दक्ष, अर्धदक्ष र अदक्ष) काम गर्ने जनशक्तिको अभाव झेलिरहेको छ । कुनै पनि उद्योग, व्यवसाय, संघसंस्था वा निर्माण कम्पनीले दक्ष त कुरै छाडौं, अदक्ष कामदार समेत पाउन सकेका छैनन् । यस्तो अवस्थामा वार्षिक ८ लाखको हाराहारीमा युवा विदेश जान थाल्नुले नेपाली श्रम बजारले आगामी दिनमा अझै चर्को मूल्य चुकाउनुपर्ने अवस्था आउनेछ । सरोकारवालाहरु नेपाली युवाको विदेश मोहलाई मुख्य रुपमा तीन कारण देख्छन् । पहिलो वर्षभरी यहाँ रोजगारीको ग्यारेन्टी छैन । अधिकांश रोजगार विकास निर्माण सम्बन्धी आयोजनाहरुमा पाइने भए पनि यो वर्षभरी चल्दैन ।
दोस्रो विदेशको तुलनामा स्वदेशको श्रम मूल्य निकै कम छ । स्वदेशमा परिवारसँग बसेर काम गर्न पाइने एउटा फाइदा बाहेक पाउने पारिश्रमिक ज्यादै न्यून छ । दिनभरी काम गरेको ज्यालाले बचत होइन, दुई छाक टार्न पनि पुग्दैन । तर विदेशमा गएर दुःख गरे दैनिक खर्च टरेर केही बचत समेत हुने अवस्था छ । तेस्रो हो विदेश मोह । साथीभाइ र आफन्त विदेश गएको देखेपछि अहिलेका धेरै युवाको गन्तव्य पनि उतै बनेको छ । युवाहरु सके पढ्न जाने नभए काम गर्न भए पनि विदेश जाने मोहमा छन् । समाजशास्त्री एवं श्रमविज्ञ डा. गणेश गुरुङ पनि यसमा सहमत छन् । गुरुङका अनुसार अहिलेका युवामा विदेश मोह देखिएकाले आन्तरिक श्रम बजारमा जनशक्ति अभाव छ । देशमा ठूला परियोजना एकै पटक सञ्चालन गर्नुपर्ने अवस्था भए आन्तरिक श्रमिकको चर्को अभाव हुनेछ ।