बिर्तामोड, मंसिर २४ । बिर्तामोड नगर प्रहरीका कमाण्डर किरण भनिने ढलकबहादुर पाण्डेको अर्को घुसकाण्ड सार्वजनिक भएको छ ।
उनले एकजनासंग तीन हजारको बिल दिएर दश हजार रुपैयाँ झ्वाम पारेको घटना सार्वजनिक भएको हो । बिर्तामोड ४ बस्ने सायल आलमले गत मंसिर १८ गते बिर्तामोड बसपार्क पूर्वपट्टि फोहोर फ्याल्दा पाण्डेले उनीसंग जरिवाना भनेर १० हजार रुपैयाँ लिएका थिए । तर, उनले ३ हजारको रसिद मात्र दिएका छन् । अरु ७ हजार रुपैयाँ पाण्डेले खाएको घटना सार्वजनिक भएको हो ।युवा नागरिक समाजको कार्यालयमा पुगेका आलमले आफूसंग भएको घटना सार्वजनिक गरेका हुन् । सो रकम पाण्डे र घुमुवा नगर प्रहरी राजकुमार खड्काले लिएका थिए ।

हिजो मात्र पाण्डेले बिर्तामोड नगरपालिका वडा नं ७ का वडाध्यक्ष अविरल कृष्ण खरेलकै अगाडिएक हजार रुपैयाँ घुस मागेका थिए । कमाण्डर पाण्डे बिर्तामोड नगरपालिकाका प्रवक्ता समेत रहेका वडा नं १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डे निकट हुन् । वडाध्यक्ष पाण्डेकै सहयोगमा उनले कमाण्डर पद पाएको बताइन्छ ।