झापा , मंसिर २५ । झापाको हल्दिवारीमा गएराति जंगली हात्तीको आक्रमणमा परी चारजना घाइते भएका छन् ।

हल्दिबारी गाउँपालिका वडा नं ४ को कालीमन्दिर टोलमा राति करिब २ः१५ बजे आएको जंगली हात्तीले आक्रमण गरेको हो । लखेटेर भागाभाग हुँदा गौरादेवी पौडेल , नगेन्द्र पौडेल ,पार्वतादेवी पौडेल र चेतन पौडेल घाइते भएका हुन् । उनीहरुको मेची प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको जलथल प्रहरी चौकीले जनाएको छ।

हात्तीले स्थानीय जयप्रकाश दाहालको अन्दाजी १ बिगाहको धान पूर्णरूपमा क्षति पुर्याउनुका साथै विजय लावतीको थ्रेसर लगाएको धान करिब ६ मन जति खाएर छरछार गरेको स्थानीय प्रल्हाद सिलवालले जानकारी दिएका छन् । त्यसैगरी हात्तीले धनबहादुर गहतराजको अटोमा समेत क्षति पुर्याएको छ ।

दाहालको खमारमा रहेको अन्दाजी १ बिगाहको कुन्युको धान क्षति गरिरहेको अवस्थामा सो हात्ती गाउँमा पस्ने देखेर गाउँलेले प्रहरी बोलाएका थिए । प्रहरीको सहायतामा हात्ती खेदाउँदा स्थानीयहरु घाइते भएको प्रहरीले जनाएको छ। दिनहुँ आउने हात्तीको कारण त्यस क्षेत्रका बासिन्दा समस्यामा परेका छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्