झापा , मंसिर २५ । सरकारले तोकेको धानको समर्थन मूल्य कार्यान्वयनको माग गर्दै किसानले बिर्तामोडस्थित खाद्य व्यवस्था तथा कम्पनी लिमिटेडको शाखा कार्यालयमा तालाबन्दी गरेका छन् ।

प्रहरीको हस्तक्षेपका बीच किसानहरूले तालाबन्दी गरेका हुन् ।
सरकारले तोकेको मूल्यमा धान खरिद नभइरहेको भन्दै उनीहरूले तत्काल समर्थन मूल्यमा धान खरिद गर्नुपर्ने माग गरेका छन् । अखिल नेपाल किसान महासंघ झापा र नेपाल किसान महासंघले संयुक्त रुपमा तालाबन्दी गरेका छन् ।

अखिल नेपाल किसान महासंघका राष्ट्रिय समिति उपाध्यक्ष वेणु शिवाकोटीले व्यापारीले मनपरी मूल्यमा किसानबाट धान खरिद गरिरहेको जानकारी दिए । ‘किसानको दबाबका कारण सरकारले मूल्य निर्धारण गरेको छ’ शिवाकोटीले भने ‘अहिले खाद्यले धान खरिद गरेको छैन, व्यापारीले तोकिएको मूल्य दिइरहेका छैनन् ।’

सरकारले मोटा धान प्रतिमन ११८६ र मध्यम धान १२५१ रुपैयाँ तोकेको छ । व्यापारीहरूले आफूखुसी ९ सयदेखि १ हजारसम्म प्रतिमनमा धान खरिद गरिरहेका छन् । जिल्लाभरबाट प्रतिनिधिमूलक सहभागी भएका किसानलाई प्रहरीले तालाबन्दी गर्न रोकेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्