बिर्तामोड, मंसिर २६ । चासोक तङनाम उधौली पर्वको अवसरमा बिर्तामोड ५ मा आयोजित कार्यक्रममा गहना लगाउने महिलाहरुसंग धेरैले फोटो खिचाए ।
गहनाले छपक्कै छोपेपछि देख्नेहरुलाई ती महिलाहरुसंग फोटो खिच्ने रहर जाग्यो । किरात याक्थुङ चुम्लुङ बिर्तामोड नगर शाखाले आयोजना गरेको चासोक तङनाम उधौली पर्वमा गहना नलगाउने महिला कमै थिए । बिर्तामोड ५ की गंगा कन्दङ्वा काम्वाङले १६ तोलाभन्दा बढीको सुनको गहना लगाएकी थिइन् ।
कन्ठा , समङेफुङ (सुनको फुली),कानको चेप्टे सुन , ढुंग्री , मुन्द्री, तिलहरी , चन्द्रहारा , यार्लिङ, रेजी , सिलाम साक्मा , जन्तर, कटुवाबाई , चिम्टीलगायतका गहना सबै सुनका थिए । उनले हातमा झोलाने चुरा मात्र चाँदीको लगाएकी थिइन् । महिलाहरुमा गहनाको रहर निकै धेरै हुन्छ । लिम्बू समुदायका महिलाहरु अझ धेरै गहनाको खासगरी सुनको गहनाको सौखिन हुन्छन् । चाडपर्व , मेलापातमा गहना लगाउनु पर्ने प्रचलन नै रहेको गंगा बताउँछिन् ।‘ मैले लगाएको गहना सबै सक्कली नै हो ’ उनले भनिन् ‘कतिपयले डुव्लिकेट पनि लगाउँछन् ।’तर, सक्कली वा नक्कली जे भएपनि गहना अनिवार्य चाहिने उनले बताइन् ।
त्यस्तै बिर्तामोड ५ कै धनकुमारी लिङ्देनले करिव २५ तोलाको सुनको गहना लगाएकी थिइन् । उनले आफूलाई अझै गहना पुगिनसकेको बताइन् ।‘ मलाई अझै पुगेको छैन’ उनले भनिन् ‘हामीलाई लुगा नर्मल भए पुग्छ तर, गहना चाहिँ चाहिन्छ ।’
उनी बिर्तामोड ५ का निवर्तमान वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनकी श्रीमती हुन् ।‘ लिम्बू समुदायका छोरीचेलीलाई विवाह गर्न गाह्रो छ ’लिङ्देनले भने,‘गहना पुर्याउनै नसकिने ।’ लिम्बू समुदायमा विवाहका बेला बेहुली र बेहुला पक्ष दुवैबाट गहना दिने चलन भएको उनले बताए । दुख गरेर जोडेको गहनालाई घरमा नराखी लकरमा राख्न बिर्तामोड ५ का वडाध्यक्ष रोहित प्रसाईले सुझाव दिए ।