झापा , मंसिर २६ । बिर्तामोड-४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि.ले ४८ औँ सेवाकेन्द्र पाँचथरको फिदिममा संचालनमा ल्याएको छ ।

संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षता भएको उद्घाटन कार्यक्रममा फिदिम नगरपालिकाका नगरप्रमुख मित्रप्रसाद काफ्लेको प्रमुख आतिथ्यता रहेको थियो । शुभकामना मन्तब्य राख्दै काफ्लेले पाँचथर जिल्लामा छरिएर रहेको रकमलाई एकिकृत गरी आर्थिक टेवा पुर्‍याउने, बचत गर्ने बानीको विकास हुने र संस्थाले ल्याएको राहत नीतिले सदस्यको जीविकोपार्जनमा सहयोग पुर्‍याउने बिचार ब्यक्त गरे । उनले स्थानीय निकायले फिदिम नगरपालिकामार्फत सकेको सहयोग गर्ने प्रतिबद्धता समेत गरे ।

त्यसैगरी कार्यक्रमका विशेष अतिथि जिल्ला सहकारी संघ पाँचथरका अध्यक्ष रेणुप्रसाद ओझाले पाँचथर जिल्लाको सहकारी क्षेत्रमा यस किसिमको उद्घाटन कार्य सम्भवतः पहिलो रहेको विचार ब्यक्त गर्दै कार्यक्रम सफलताको शुभकामना ब्यक्त गरे ।

जोखिम ब्यवस्थापन विभाग प्रमुख प्रेम बस्नेतले संचालन गरेको कार्यक्रममा संस्थाका सचिव ईन्द्रबहादुर कार्कीले स्वागत मन्तब्य राखेका थिए ।संस्थाका कार्यकारी प्रमुख कमल बस्नेतले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै संस्थाको विगत, बर्तमान गतिविधि र आगामी योजनाबारे प्रकाश पारेका थिए । २०७९ कार्तिक मसान्तसम्म संस्थाको शेयर पुँजी ३१ करोड ३७ लाख ८१ हजार ६०० रुपैयाँ, शेयर सदस्य संख्या ५५ हजार १४१, लगानी रकम २ अर्ब ३५ करोड २२ लाख ४७ हजार ५०४ र बासलात २ अर्ब ७० करोड १९ लाख २२ हजार ८ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्