नेपालको राजनीतिमा युवा भएन भनेर भनिरहँदा यस पटक सम्पन्न भएको निर्वाचनमा धेरै युवाहरु प्रतिनिधि सभाको सांसद बनेका छन् । ‘नो नट अगेन’ भनेर एक प्रकारले राजनीतिमा पटकपटक उम्मेदवार बन्नेहरुलाई बहिष्कारझै अभियान चलेको थियो । धेरै युवा राजनीतिबाट विरक्तिएका देखिन्छन् भने कोही युवा अव राजनीतिमा परिवर्तन आवश्यक छ भनेर आफै उम्मेदवार बनेर निर्वाचित हुँदा युवाले परिवर्तन खोजेको छ भन्ने प्रमाणित भएको छ । युवाको रुची राजनीतिमा बढेको छ र चुनावमा उम्मेदवारी पनि धेरै नै देख्न पाउँदा देश विदेशमा रहेका युवाहरुलाई राजनीतिमा अब चाहिँ परिवर्तन हुने रहेछ भन्ने आभाष हुन थालेको छ । राजनैतिक परिवर्तन भयो तर राजनीतिमा परिवर्तन भएन भनेर युवाहरु सडकमा उत्रिएका थिए ।

नेपालको राजनीतिक आस्था हेर्ने हो भने बुवा ,हजुरबुवाबाट जस्तो विचार लिएको छ, त्यसैअनुरुप नेपाली राजनैतिक पुस्ता हस्तान्तरित हुँदै आएको छ । बाबुबाजे कांग्रेस हुँदा सन्तान पनि कांग्रेस , कम्यनिुष्ट हुँदा कम्युनिष्ट बन्ने परम्परा देखिन्छ । ४ दशकदेखि निरन्तर उम्मेदवार बनेका छन् । मन्त्री ,प्रधानमन्त्री लगायतका पदमा बसिसकेका छन् तर पनि अझै आफै नै बन्नु पर्छ भन्ने मान्यता यिनीहरुमा छ । मैले मात्र यो देश चलाउन सक्छु , मैले मात्र जानेको छु , मेरो मात्र अन्तर्राष्ट्रिय सम्बन्ध गाढा छ भनेर आफूमा अहमता नेतामा छाएको छ । राजनीति पनि खानदानी व्यवसाय जसरी गरेका छन् । पुस्ता हस्तान्तरण गर्दै सत्ता र कुर्सी जहिलै आफैमा सीमित राखेका छन् । सरकारमा बसेर उमेर तोकी वृद्ध भत्ता दिने निर्णय यिनैले गर्छन् तर, आफूलाई युवा भनेर पदमा लालायित हुन्छन् । राजनीतिमा पक्ष र विपक्ष हुन्छ । तर अहिलेको राजनीतिक अवस्था हेर्दा पक्ष र विपक्ष नै देखिदैन । सबै दलहरुको आफ्ना आफ्ना घोषणापत्र छ , प्रतिवद्धतापत्र छ तर आफूले घोषणा गरेको घोषणापत्र के के पुरा गरे भनेर समीक्षा गरेको ५ वर्षे कार्यकालमा देखिदैन । ५ वर्षपश्चात् फेरि चुनाव आउँछ अनि घोषणापत्र फेरि बन्छ ।

४ दशकदेखि यस्तै प्रवृत्तिले गर्दा नेपालीमा राजनीतिप्रति वितृष्णा पलाएको छ । अनि नेपाली युवा बाध्य छन् विदेशिन । विदेशी भूमिमा बसिरहँदा स्वदेशको माया अत्यन्तै हुन्छ । लाग्छ, म मात्र होला आफ्नो देशलाई माया गर्ने । विदेशमा बस्दा स्वदेशको चिन्ता । स्वदेशमा बस्दा विदेशको इच्छा । यस्तै हुँदै आएको छ युवामा । आफू विदेशमा बसे पनि स्वदेशको राजनैतिक परिवर्तन होस् , विकसित देश बनोस् , आफू जसरी आफ्ना सन्तान विदेशिन नपरोस् भन्ने इच्छा आज धेरै विदेशिने युवामा होला । खाडी मुलुकमा जाने युवामा त यो चाहना होला तर विकसित देश जाने युवामा त्यो भावना नहोला । युवाको भन्दा पनि आज परिवारको इच्छा विदेशिने देख्दा अचम्मै लागेको छ । विदेश पढ्न पठाउने तर स्वदेशमा राजनीति गरेर यो देशको सेवा गर बाबु भनेर कुनै पनि अभिभावकले आफ्ना सन्तानलाई भन्दैनन् होला । अभिभावकले नभने पनि तर यसपालीको चुनावमा स्वतः स्फुर्त युवा उम्मेदवारहरु विजेता बन्दा खुसी महसुस गरेका छन् । राजनैतिक दलमा त खासै नयाँ अनुहार देखिएन तर स्वतन्त्रको नाममा उम्मेदवारी दिने साहस धेरै युवाले गरेका छन् । स्वतन्त्रबाट नै चुनाव जितेर संसदमा आफ्नो उपस्थिति देखाउने अवसर अव युवाले पाएका छन् । ‘हजुर हाम्लाई भोट दिनुस् हामी युवा छौ । यही देशमा केही गर्छाै’ भन्नेको जमात धेरै नै थिए । डाक्टर , इन्जिनियर, वकिलसहित धेरै पढेका उम्मेदवारहरु यो चुनावमा सहभागी बनेता पनि केही युवालाई नेपाली जनताले चुनेका छन् । अब उम्मेदवारमात्र हैन मतदाता पनि परिवर्तन भएको यस पटकको परिणामले देखाएको छ । आफ्नो पेशा व्यवसाय छोडेर जनताको सेवा गर्न यो चुनावमा उम्मेदवारी हो भन्ने जमात पनि बाक्लै थियो ।

परिवर्तन सम्भव छ हाम्रो पालामा भनेर पनि युवा राजनीतिमा परिवर्तन गर्न लागेका छन् । देश बनाउनु भनेको आफू बनिनु हो भन्ने सोच अब परिवर्तन गर्नुपर्छ । कार्यकर्ता पोस्ने , अत्याधिक खर्च गरेर चुनाव जितिन्छ भन्ने सोच यस पटकबाट परिवर्तन भएको छ । पैसा हुनेले चुनाव जित्ने, पैसा नहुनेले चुनाव लड्नै नपाउने भन्ने अवस्थाबाट अब चिन्ता लिनु नपर्ने भयो । टिकट लिन नै नेताको पछि लाग्नु पर्ने । नेताको आशीर्वादबाट मात्र टिकट पाउनु पर्ने अवस्थाको अन्त्य आगामी दिनमा अवश्य हुने छ ।

राजनैतिक सोच परिवर्तन हुँदा आज यस चुनावमा धेरै नयाँ अनुहारहरु उदाएका छन् । नयाँ राजनैतिक पार्टी उदाएको छ । केही महिनामै राष्ट्रिय पार्टी बनेको छ । जनजनको मन मनमा घण्टी बजाएको छ । पुरातन सोच र राजनीतिमा हाली मुहालीको अन्त्य यी यस्तै नयाँ सोच र नयाँ जोशले अवश्य नै गराउने छ । मतदातामा छाएको खुसी , नेतामा छाएको भय अबको दिनमा घण्टीको सामना गर्न गाह्रो पर्ने तर्क राजनैतिक दलहरुले पनि गर्न थालेका छन् । हामी पुरानो पार्टी हामीलाई जनताले विश्वास गरेका छन् भन्ने दिन अब बाँकी रहने छैन । राजनैतिक दलहरु भनेको विभिन्न राजनैतिक परिवर्तन गरेर उदाएका हुन्छन् तर घण्टीको उदय नेपाली जनताको मनबाट भएको आभाष गरेका छन् । राजनैतिक विकृति र भ्रष्टाचारीहरुको विरुद्ध उदाएको छ घण्टी भनेर भनिरहेका छन् । नेपालमा भएका राजनीतिक दलहरु नसुध्रिने हो भने अब आम जनताले परिवर्तन खोजेका छन् ।

देशमा परिवर्तनहरु धेरै भए तर जनतामा परिवर्तन चाहियो । देश विकासमा परिवर्तन चाहियो । स्वतन्त्र देशका हामी जनता स्वतन्त्र भए पनि राजनीतिले हामीलाई स्वतन्त्र बनाउन सकेन । देश जन्मिएको धेरै भयो , नेता धेरै जन्मिए तर राजनेता भनेर गर्व गर्ने नेता हामीले पाउन सकेनौ । परिवर्तन हामीबाट नै सम्भव छ भन्ने प्रमाण यस चुनावबाट पनि सिद्ध भईसकेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्