झापा, मंसिर २८ । झापाको बुद्धशान्ति गाउँपालिकाले किसानहरुलाई सूचीकृत गर्न थालेको छ ।

असंगठित रहेका किसानका बारेमा विस्तृत जानकारी वेभसाइटमा राख्न र उनीहरूको पहिचान गर्न परिचयपत्र वितरणको लागि गाउँपालिकाले किसान सूचीकरण कार्यक्रमको सुरुवात गरेको हो ।

गाउँपालिकाले सहजकर्ता परिचालन गरेर किसान सूचीकरण कार्यक्रमको सुरुवात गरेको हो । ७ वटा वडा रहेको बुद्धशान्ति गाउँपालिकामा १ नम्बर वडामा यसअघि नै सूचीकरण गरिसकेकाले अब बाँकी ६ वटा वडाहरुमा सूचीकरणका लागि कर्मचारी परिचालन गरिएको गाउँपालिका कृषि विकास शाखाका प्रमुख अर्जुन पौडेलले बताएका छन् ।

१ नम्बर वडामा १ हजार ८ सय २१ जना किसान परिवार यसअघि नै सूचीकृत भएको र अब अरु वडामा गरी जम्मा बुद्धशान्ति गाउँपालिकाभरिका १२ हजार किसान परिवार सूचीकृत गरिने कृषि विकास शाखाका कृषि प्राविधिक कृष्ण ढुंगेल बताउँछन् । करिव ५ महिनाभित्र तथ्याङ्क संकलन गरिसक्ने उद्धेश्य राखेर उक्त कार्यक्रमको सुरुवात गरेको बताइएको छ । ‘गाउँपालिकाले किसान सूचीकरणका लागि सहजकर्ताको छनोट गरेपछि उनीहरूलाई तालिम दिएर काम सुरु गरेका हौँ’ कृषि प्राविधिक ढुंगेलले भने ।

उनले किसानको सूचीकरण गरिसकेपश्चात् वर्गीकरण गरी वास्तविक किसानलाई परिचयपत्र वितरण गरिने बताए । किसानको सूचीकरणमार्फत किसानको व्यक्तिगत विवरणदेखि जग्गा, खेतीबाली, पशुपालन, मत्स्यपालनका साथै आधारभूत विवरण, पारिवारिक विवरण, खेतबारीको विवरण, जमिन करारमा लिए दिएको विवरण, कृषि व्यवसाय दर्तासँग सम्बन्धित विवरण, आय र खर्चको विवरण संकलन गरिने छ ।

त्यस्तै बालीको उत्पादनसम्बन्धी विवरण, बालीको बजारीकरणसम्बन्धी विवरण, कृषिमा मेसिनको प्रयोगसम्बन्धी विवरण, कृषि र पशुपालनसम्बन्धी संरचनाको विवरण, पशुपालनका लागि मेसिनको प्रयोगसम्बन्धी विवरण, ह्याचरी तथा मत्स्यपालनसम्बन्धी संरचनाको विवरण संकलन गरिने छ ।

त्यस्तै मत्स्यपालनसम्बन्धी मेसिनको प्रयोग, पशुपन्छी तथा मत्स्य उत्पादनको बजारको विवरण संकलन गरिने छ । सूचीकृत किसानको विवरण वेभसाइटमा राखिने छ । वेभसाइटमा राखिएको किसानको विवरणले उनीहरूको वास्तविकता थाहा पाउन सजिलो हुने र सरकारमार्फत् सञ्चालन हुने किसानलक्षित कार्यक्रमहरु वास्तविक किसानसम्म पुग्ने कृषि प्राविधिक ढुङ्गेल बताउँछन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्