बरतलाल राजवंशी
कुमरखोद । झापा गाउँपालिकाअन्तर्गतको हुलाकी सडकखण्डमा अहिले जताततै बालुवा बालुवाकै ढिस्को मात्रै देख्न पाईन्छ ।

ठेकेदार कम्पनीले झापा गाउँपालिकाको पुरै हुलाकी सडकखण्डमा बालुवा हालेर कालोपत्रे गर्ने कार्यलाई तिबत्रा दिएका छन् । माटोको प्रयोग भएको देखिदैन । अहिले सानोमाई खोलाको वारिपारिको भागमा ठेकेदार कम्पनीले ९–१० फिट उचाई बनाई बालुवा भर्ने काम गरिरहेको छ । खोलाको छेउमा बालुवा मात्रै हालेर कालोपत्रे गर्ने कार्य गरेमा उक्त सडक छिट्टै भत्किने र बालुवा नै हाल्ने भए वर्षातको समयमा हालेको भए राम्रो हुने समाजसेवी सन्तोषकुमार गणेशले बताए । ठेकेदार कम्पनीले ईस्टिमेटअनुसार काम नगरेको र गुणस्तरहीन सडक बनाउँदै गरेको स्थानीयवासीहरुको गुनासो छ ।

स्थानीय रामदेव राजवंशी भन्छन् –ठेकेदारले गुणस्तरहीन रोड बनाउँदै गरेको छ, रोड बलियो बनाउनको लागि कम्तीमा पनि माटोको मिश्रण हुन अति जरुरी छ बालुवाको मात्रा अत्यधिक हाल्यो । ठेकेदारले करोडौ रुपैयाँ बचाएको छ । खोलाबाट बालुवा ल्यायो बाटोमा हाल्यो र गिटी छरेर रोड बनायो ।’ यहाँ बोल्ने मान्छे नभएर हुलाकी सडकले मनपरी काम गरेको उनी बताउँछन् । त्यसैगरी अर्का स्थानीयवासी टेकबहादुर कार्की भन्छन् –‘कम्तीमा पनि रोड बलियो बनाउनका लागि रोडको दुवै छेउमा माटो हालेको भए बलियो हुने थियो तर, ठेकेदारले माटो भने वस्तु नै हालेन ।’ केहि समय अगाडी हुलाकी सडकखण्डको सडकवाडीमा कल्भर्ट निर्माणको क्रममा ठेकेदार कम्पनीले कमसल ईटाको प्रयोग गरेर कल्भर्ट निर्माण गरेपछि स्थानीयवासीले काममा अवरोध गरेका थिए । त्यसपछि ईटा त्यहाँबाट उठाएर अर्को ईटा ल्याई कल्भर्टहरु निर्माण गरिएको थियो । झापा गाउँपालिकाको सीमानामा पूर्वमा विरिङ नदी, पश्चिममा माई नदी पर्छ भने विरिङ नदीदेखि माई नदीको दुरी लगभग १० कि.मी.सम्म कालोपत्रे गर्ने कार्यलाई अहिले तिब्रता दिइएको हो । ठेकेदार कम्पनीले अहिलेसम्म ६० प्रतिशतभन्दा बढी कालोपत्रेको काम सम्पन्न गरिसकेको छ ।
सरकारले ६ भागमा विभाजन गरी झापा मोरङ हुलाकी राजमार्ग ठेक्का लगाएसँगै झापामा राजगढदेखि मेची पुलसम्म कालोपत्रे कार्य यसअघि नै सम्पन्न भईसकेको छ । राजगढदेखि रतुवा पुलसम्मको २८ कि.मी सडकको निर्माण ठेक्का पाएको मोतीदान कन्स्ट्रक्सन कम्पनीले कामलाई तिब्रता दिएको छ । माई नदीदेखि पश्चिम रतुवा नदीसम्मको कालोपत्रेको कार्य पनि सम्पन्न भईसकेको छ ।

हुलाकी राजमार्ग राजगढदेखि रतुवा पुलसम्म निर्माण ठेक्का पाएको मोतीदान कन्स्ट्रक्सनले २८ कि.मी. बाटो निर्माण गर्नका लागि ७५.५ करोडमा ठेक्का पाएको देखिन्छ । २०७६ साल असोेज २४ गते सम्झौता गरेको कम्पनीले काम सम्पन्न गर्ने मिति भने २०७९ साल असोज २४ गते भएता पनि अहिलेसम्म काम सम्पन्न गरेको छैन । हुलाकी राजमार्गमा अहिले ३ वटा कन्स्ट्रक्सन कम्पनीहरु मोतीदान कन्स्ट्रक्सन , पि.एस कन्स्ट्रक्सन र गजुरमुखी कन्स्ट्रक्सन कम्पनी मिलेर हुलाकी राजमार्गको कामलाई तिव्रता दिएका छन् ।

२०६९ जेठ २४ गतेको मन्त्रिस्तरीय निर्णयबाट तोकिएको हुलाकी राजमार्गको रेखांकन अनुसार लम्बाई १७९२.४२ किमी रहेको छ । हुलाकी राजमार्ग पूर्वपश्चिम हँुदै तराईका २० जिल्लाहरुमा यातयातको सहज पहुँच विस्तार गर्ने लक्ष्यका साथ निर्माण भएमा पूर्वमा केचनादेखि पश्चिममा कंचनपुर दोधारा चाँदनीसम्मको भू–भागलाई जोड्ने छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्