बिर्तामोड , पुष १ । बिर्तामोड नगरपालिकाले सार्वजनिक सडकको क्षेत्र खाली गर्न गत भदौ २३ गते १५ दिने सूचना जारी गरेको थियो । तर, कसैले पनि नगरपालिकाको त्यो आदेशलाई टेरेनन् ।

फेरि पनि नगरपालिकाले तीन दिनको अल्टिमेटमसहित सूचना जारी गरेको छ । शुक्रवार फेरि सूचना जारी गर्दै नगरपालिकाले वडा नम्बर ३ स्थित सैनिकमोड चौकदेखि पूर्व मेची आँखा अस्पतालसम्मको भागमा सडकको क्षेत्र खाली गर्न आव्हान गरेको हो ।

नगरपालिकाले सडकको केन्द्रबाट १५ मिटर सडक र ६ मिटर सेटव्याकसहित दायाँबायाँ २१ मिटर क्षेत्रभित्रका संरचना ३ दिनभित्रमा हटाउनु पर्ने सूचनामा उल्लेख गरेको छ । यस क्षेत्रमा अव्यवस्थित तरिकाले टहरा, घुम्ती, छाप्रा आदि निर्माण गरी सार्वजनिक सडकको क्षेत्रसमेत अतिक्रमण गरि बसोबास गरिरहेको पाइएकाले त्यस प्रकारका कार्य तुरुन्त बन्द गरी निर्माण गरिएका संरचना हटाएर खाली गर्नु पर्ने नगरपालिकाले जनाएको हो । सूचना प्रकाशित मितिले ३ दिन भित्रमा भौतिक संरचनाहरु नहटाए नगरपालिका आफैँले त्यस्ता संरचना हटाउने र हटाउँदा लाग्ने खर्च समेत सम्बन्धित व्यक्तिबाट नै असुल उपर गरिने सूचनामा उल्लेख गरिएको छ ।

यसअघि गत भदौ २३ गते जारी सूचनामा बिर्तामोड नगरपालिकाले सार्वजनिक पैनी , कुलो र सडक क्षेत्र अतिक्रमण गरी अनाधिकृत रुपमा निर्माण गरिएका भौतिक संरचना भत्काउने उल्लेख थियो । नगरपालिकाले सार्वजनिक सूचना जारी गरी ती अनाधिकृत संरचना हटाउन १५ दिनको अल्टिमेटम दिएको थियो । त्यस सूचनाको बेवास्ता गरी भौतिक संरचनाहरु नहटाएमा कानून बमोजिम कार्वाही प्रक्रिया अघि बढाइने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेद्वारा जारी सूचनामा उल्लेख थियो ।तर, त्यो निर्णय कार्यान्वयन भएन ।
बिर्तामोड नगरपालिकामा सार्वजनिक पैनी , कुलो र सडक क्षेत्र अतिक्रमण गरी धेरै घर निर्माण भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्