अर्जुनधारा,पुष २ । विदेशी ब्राण्डका रक्सीले नेपालको अर्थतन्त्र बाहिरिरहेको बेला स्वदेशी रक्सीलाई ब्राण्ड बनाएर बिक्री वितरण गर्नसके नेपालीहरुको अर्थतन्त्र बलियो हुने कुरा अर्जुनधारामा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

शनिबार अर्जुनधारा नगरपालिकाको सभाहलमा प्रमुख अतिथि प्रदेश सरकारका कृषि मन्त्री झलकसिंह दर्लामी, योजना आयोगका उपाध्यक्ष डा. पूर्ण लक्समको उपस्थितिमा वक्ताहरुले यस्तो कुरा सुझाएका हुन् ।

घरेलु मदिरा ब्राण्डिङ गरी बजारीकरण गर्ने चर्चा चलिरहेको बेला कार्यक्रममा संविधानसभा सदस्य प्रेमबहादुर गिरीले अर्थतन्त्रको बलियो आधार स्वदेशी रक्सीलाई ब्राण्डिङ गरेर बजारमा पुर्याउनसके आयआर्जनको मुख्य स्रोत हुने बताए ।
गिरीले अर्थतन्त्र स्रोतका धेरै आधारहरु कृषि नै भएको हुँदा घरेलु रक्सीजस्तै स्वदेशी घाँसलाई विदेशमा पठाउन सकिने पनि जनाए ।
कार्यक्रममा नगर प्रमुख बलदेवसिंह गोम्देनले विदेशी रक्सी नेपालमा आयात हुनुले स्वदेशी रक्सी पछि परेको धेरै उदाहरण हुँदाहुँदै स्वदेशमा बनेका कोदोको रक्सीलाई ब्राण्ड बनाएर बजारीकरण गर्न प्रदेश सरकारलाई आग्रह गरे ।

नगर प्रमुख गोम्देनले घरेलु रक्सीलाई ब्राण्डिङ गर्ने सवालमा आफूले सक्दो सहयोग गर्ने र आफ्नै नगरमा उत्पादनका लागि जग्गा उपलब्ध गराउने वचन दिएका छन् ।
परम्परागत मदिरा (कोदोको रक्सी) प्रवर्द्धन समिति प्रदेश नं. १ का संयोजक टेकबहादुर खजुमले परम्परागत कोदोको रक्सीलाई प्रवर्द्धन गर्नसके युवा स्वरोजगारदेखि प्रदेश १ नै आर्थिक रुपमा समृद्ध हुने आधारहरु पेश गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि कृषि मन्त्री दर्लामीले नीतिगत कुरालाई मिलाएर कानुनमा सहजीकरण गर्न प्रदेश सरकार सकारात्मक रहेको बताउँदै परम्परागत कोदोको रक्सी मात्र नभई स्वदेशी रक्सी हुने सामग्रीलाई उत्पादनमा टेवा पुग्ने काममा प्रदेश सरकार पछि नहट्ने प्रतिवद्धता जनाए ।
योजना अधिकृत हेमराज सेडाईंले सञ्चालन गरेको कार्यक्रमको सभापति नगर प्रमुख गोम्देन रहेका थिए । कार्यक्रममा घरेलु मदिरा ब्राण्डिङ निर्देशन समिति प्रदेश नं. १ का सदस्य सरु सिङ्गक, प्रवर्द्धन समितिका पुष्पा बोखिम, अग्नीमाया मेचे, कोपिला लावती, वडा नं. ७ का वडाध्यक्ष गोविन्द खतिवडा, वडा नं. १० का वडा अध्यक्ष खगेन्द्र इङ्नाम, प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राई, ब्राण्डिङ समितिका जनसम्पर्क संयोजक दिपीन राई, वाणिज्य संघका उपाध्यक्ष चतुर्भुज काफ्लेलगायतको उपस्थिति रहेको थियो । उपस्थित सबैमा नगरका उपप्रमुख खड्गमाया पराजुलीले स्वागत गर्दै घरेलु मदिरालाई ब्राण्डिङ गरेर उचाइमा पुर्याउँदै अर्जुनधाराको नाम राख्न सकिने सुझाव दिएका थिए ।

अन्तरक्रियापछि घरेलु मदिरा ब्राण्डिङलाई आवश्यक कारखाना राख्नका लागि वडा नं. २ मा रहेको जग्गाको अवलोकन गरेका थिए । अवलोकनमा योजना आयोगका उपाध्यक्ष डा. लक्सम, कृषि मन्त्री दर्लामी, नगर प्रमुख गोम्देनलगायत रहेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्