बिर्तामोड,पुष २ । सैनिकमोड–गोलधाप सडकखण्डमा भईरहेको कालोपत्रे निर्माणका क्रममा देखिएको विवाद समाधान भएको छ ।

बिर्तामोड नगरपालिका वडा नम्बर ३ स्थित सैनिकमोड चौकमा रहेको राजेश राजवंशीको घरमा जोडिएको लाछी सडक मापदण्ड अनुसार भत्काउनु पर्ने विषयमा जग्गाधनी र सरोकारवालाहरुबीच विवाद भएको थियो ।
शनिवार बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, वडाध्यक्षहरु सूर्यप्रसाद कन्दङ्वा, रोहित प्रसाई , हरि चम्लागाई, दुर्योधन गुरुङलगायत सरोकारवालाहरुको उपस्थितिमा सहमति भएको हो । जग्गाधनी राजवंशीले सडक मापदण्डअनुसार आफ्नो घरमा जोडिएको लाछी भत्काउने र सडकलाई ६० मिटर बनाउन सहयोग गर्ने सहमति जनाएपछि विवाद अन्त्य भएको हो । अब आइतवारबाटै ड्रेन निर्माणको काम अघि बढ्ने नगर उपप्रमुख संग्रौलाले जानकारी दिए ।
शहरी विकास मन्त्रालयको बजेटमा सैनिकमोड–गोलधाप सडक खण्डमा कालोपत्रेका लागि प्राथमिक चरणको काम धमाधम भईरहेको छ । सैनिक बजारसम्म ४ हजार २ सय मिटर सडकको कालोपत्रे निर्माणका लागि खनाल शान्ति जेभीले ४ करोड रुपैयाँमा ठेक्का लिएको हो । आगामी असार मसान्तसम्ममा निर्माण सम्पन्न हुने ठेकेदार कम्पनीका अनिल भट्टराईले जानकारी दिए ।